मोरङमा हत्या गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन्।
सोमबार बेलुकी साढे आठ बजे प्रहरीले बेलबारी नगरपालिका-५ बस्ने ३१ वर्षीय कुमार सरदारलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईका अनुसार उनलाई चन्द्र कुमार राईको हत्या गरेको आरोपमा पक्राउ गरेको हो।
उनले भदौ १२ कसेनीस्थित लोहान्द्र खोला किनारामा धारिलो हतियार प्रयोग गरी राईको हत्या गरेको आरोप छ।
कार्यालयबाट खटिएको टोलीले उनलाई सुनसरी बराहक्षेत्र-११ मधुवनबाट पक्राउ गरेको हो।
यस घटनामा अझै सात जना फरार भएको डिएसपी राईले बताए।
'अघिल्लो राति मृतक समूह र सरदार समूहबीच सामान्य विवाद भयो। भोलिपल्ट पनि फेरि मान्छे ल्याएर उनीहरूबीच झडप हुँदा राईको मृत्यु भयो,'डिएसपी राईले भने,'घटनामा संलग्न अन्यको पनि खोजी गरिरहेका छौं।'
ईलाका प्रहरी कार्यालय बेलबारीले उनीमाथि थप अनुसन्धान गरिरहेको बताएको छ।