सोसल चेन्ज मेकर एण्ड इनोभेटर (सोचाइ) की संस्थापक बोनिता शर्मा यस वर्षको ‘ग्लोबल गोल प्रोगेस अवार्ड’ जित्न सफल भएकी छन्।
करिब तीन वर्षदेखि महिला सशक्तिकरण र पोषण क्षेत्रमा थुप्रै सामाजिक काम गर्दै आएकी बोनिताले पाँचौ वार्षिक ग्लोबल गोल पुरस्कार पाएकी हुन्।
अन्तर्राष्ट्रिय संस्था ‘द बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन’ अन्तर्गत सुरू भएको ग्लोबल गोल अवार्ड कार्यक्रम हरेक वर्ष आयोजना हुन्छ। जहाँ स्वास्थ्य र विकासको लागि महत्वपूर्ण काम गरिरहेका विश्वभरका व्यक्तिलाई पहिचान गरी पुरस्कार दिइन्छ।
संस्थाले ‘ग्लोबल गोलकिपर अवार्ड’, ‘चेन्जमेकर अवार्ड’, ‘प्रोगेस अवार्ड’ र ‘क्याम्पेन अवार्ड’ गरी चार विशेष अवार्ड वितरण गर्छ। यी अवार्ड विश्वभरका चार जना अभियन्तालाई दिइन्छ र पुरस्कृत व्यक्तिलाई ‘द गोलकिपर’ नामले सम्मान गरिन्छ।
यो वर्षको अवार्ड नेपाल, अफ्रिका, भारत र नाइजेरियाका संस्था तथा अभियन्ताले जितेका हुन्। जसमा नेपालकी बोनिताले दस हजार अमेरिकी डलर पुरस्कार पनि पाउन सफल भइन्।
‘कोरोना महामारीबीचमा अन्तर्राष्ट्रिय संस्थाबाट अवार्ड पाएको खबर पाउँदा निकै खुसी छु,’ सोचाइकी संस्थापक बोनिताले सेतोपाटीसँग भनिन्, ‘सुरूमा त विश्वास नै लागेको थिएन। संस्थाको आधिकारिक चिठी देखेपछि सपना जस्तो लागिरहेको थियो।’
उनको संस्थाले कुपोषणबाट हुने बाल मृत्युदरसँग लड्न सुत्केरी आमाका लागि 'न्युट्रिबिड्स' डिजाइन गर्दै आएको छ।
यो एक किसिमको ब्रासलेट हो जुन विभिन्न रङका दानाबाट बनाइएको हुन्छ। यो ब्रासलेटको सहयोगमा सुत्केरी आमाले आफ्नो बच्चालाई के-कस्ता पोषक खाना कति समयमा खुवाउने भन्ने सम्झाउँछ। सोचाइले हालसम्म सातवटा जिल्ला घुमेर त्यहाँको पोषण स्वास्थ्यमा सुधार ल्याएको उनको भनाइ छ।
बोनिताको कामलाई युनेस्को मलाला कोषबाट केटीहरूको शिक्षाको अधिकारका लागि पुरस्कृत गरिएको थियो। गत वर्ष पनि उनको संस्थाले बनाएको पोषण मालाले युनिसेफको एसिया प्यासिफिक युथ च्यालेन्ज-२०१६ जितेको थियो। त्यही वर्ष बोनिता विश्वको प्रेरणादायी १०० महिला-२०१९ को सूचीमा पर्न सफल भएकी थिइन्।
हाल जितेको पुरस्कार भने बोनिताको लागि अलि विशेष छ। उनका अनुसार उनी सानैदेखि माइक्रोसफ्टका सञ्चालक बिल गेट्स र सामाजिक कार्यकर्ता मेलिन्डा गेट्सको बारेमा पढ्ने र सुन्ने गर्थिन्। उनीहरूबाटै प्रभावित भई आफ्नो काम गर्थिन्।
उनी भन्छिन्, ‘जो व्यक्तिबारे मैले बाल्यकालमा किताबमा पढेँ, कुनै दिन तिनै दुईबाट व्यक्तिगत चिठी पाउँछु भनेर कहिल्यै सोचेकी थिइनँ। यसले हाम्रो कामलाई अझ अघि बढाउन प्रोत्साहन मिलेको छ।’