घरमा कोही नभएको अवस्थामा सप्तरीमा एक महिलाको हत्या भएको छ। तिरहुत गाउँपालिका-२ मेनाकडेरीकी ५० वर्षीया दयामनदेवी यादवको हत्या भएको हो।
शनिबार राति सुतिरहेको ठाउँबाट उठाएर आँगनमा ल्याएर यादवको हत्या गरिएको प्रहरीले जनाएको छ।
अज्ञात समूहले उनको घाँटीमा डोरी कसेर, अनुहार तथा टाउकोमा हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
उनको कानको लोती छिनाइएको छ भने आँखामा गहिरो चोट देखिएको छ। आइतबार यादवको शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए।
उनका श्रीमान् विराटनगरमा शिक्षण पेशामा छन्। एक छोरा दिल्ली र अर्का काठमाडौंमा बस्छन्।
परिवारमा अन्य कोही नभएका कारण यादव एक्लै बस्थिन्।
उनको के कारण हत्या भयो भन्ने खुलेको छैन। व्यक्तिगत रिसिइबीका कारण उनको हत्या गरिएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ।
अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली, प्रदेश-२ प्रहरी कार्यालयबाट प्राविधिक सहितको टोली खटिएको छ। तर, हालसम्म यादवको हत्यामा संलग्न कोही पनि पक्राउ परेका छैनन्।
‘हामी हत्या गर्ने समूहको खोजी गरिरहेका छौं, अहिलेसम्म कोही फेला परेको छैन,’ एसपी धमलाले भने।
प्रदेश प्रहरी प्रमख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले घटनाबारे प्रदेशले प्राविधिक सहितको टोली खटाएको बताए।
‘उनको व्यक्तिगत रिसिइबीका कारण हत्या भएको प्रारम्भिक रूपमा बुझिएको छ,’ उनले भने।
चोरी-डकैती गर्ने मनसाय देखिँदैन, किनकी यादवको घरमा रहेका सबै सामग्री सकुशल छन्।
यस्तै, समूहले महिलाको हत्या मात्र गर्ने मनसायले घटना गराएको देखिएको छ।
यादवको घर गाउँभन्दा पर छुट्टै भएकाले घटना हुँदा कसैले पनि थाहा नपाएको प्रहरीले जनाएको छ।