सर्वोच्च अदालतको स्टे अर्डरको बेवास्ता गर्दै काठमाडौं महानगरपालिका-१६ को बालाजु बाइपास सडकमा डोजर पसेको छ।
विवादकै क्रममा स्थानीयहरूसँग परामर्श नै नगरी शनिबार बाइपास सडकको निर्माण काम अघि बढाइएको हो।
सडक निर्माणको काम गर्न दुई वटा डोजरले काम अघि बढाएको स्थानीय तथा पीडित रोशन श्रेष्ठले जानकारी दिए।
‘यहाँ अहिले डोजर ल्याएर पिच गर्ने तरखरमा छन्। हाम्रा अभियन्ता तथा पीडितहरूलाई पक्राउ गरेको छ। त्यसैको फाइदा उठाएर उनीहरूले काम अघि बढाएका छन्,’ उनले सेतोपाटीसँग भने, ‘दुई वटा डोजर, तीन चार वटा पिकअप गाडी देखिन्छन्।’
विवाद हुने भएपछि सो ठाउँमा प्रहरीसमेत परिचालन गरिएको छ।
‘पुलिसहरूले कतै जान दिएको छैन। तीन ट्रक पुलिसहरू आएर बसेका छन्,’ उनले भने।
पीडितहरूले मुद्दा हालेपछि सो क्षेत्रमा कुनै पनि निर्माणको काम अघि नबढाउनू भन्दै सर्वोच्चले स्टे अर्डर जारी गरेको छ।
तर अहिले निर्माणको काम अघि बढाइएको छ।
महानगरीय प्रहरी वृत्त, बालाजुका प्रहरी नायब उपरीक्षक(डिएसपी) निर्मल बुढाथोकीका अनुसार अहिले बाटो बनाइरहेको भएर खटिएको बताए।
गत बुधबार काठमाडौं महानगरपालिकाले बाइपास सडक क्षेत्रमा सूचना केन्द्र बनाउनको बारहरू लगाएको थियो। स्थानीय तथा सडक विस्तारका पीडितहरूले सो बारहरू भत्काएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले आठ जनालाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त सोह्रोखुट्टेमा राखिएको छ। उनीहरूमाथि अभद्र व्यवहारको मुद्दा चलाएको छ।