सडकमा गुडिरहेको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा पाल्पामा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीका अनुसार शनिवार दिउसो साढे दुई बजेतिर तिनाउ गाउँपालिका वडा नं. ३ दोभानस्थित सिद्धार्थ राजमार्गमा उक्त दुर्घटना भएको हो।
प्रहरी नायव उपरीक्षक चौधरीका अनुसार बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको लु ४९ प ७७९५ नं. मोटरसाइकललाई पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख १८८३ नं. को टिप्परले ठक्कर दिएको थियो।
टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक गुल्मी पूर्तिघाट–४ का ३१ वर्षीय मिलन सार्की छन् भने अर्की महिलाको पहिचान खुलेको छैन।
प्रहरी नायब उपरीक्षक चौधरीले मोटरसाइकलको पछाडि सवार अन्दाजी ३१ वर्षीय महिलाको पनि मृत्यु भएको जानकारी दिए।
दुर्घटनापछि गम्भीर घाइते अवस्थामा उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएकोमा चेकजाँच गर्दा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि मोटरसाइकललाई ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक चौधरीले बताए।