आइसिसी टी-२० विश्वकप २०२६ को समूह ‘सी’ आफ्नो दोस्रो खेलको नजिता नेपालका लागि यति खराब रह्यो कि नेपालका ‘डाइ हार्ट फ्यान’ अझै विश्वास गर्न सकिरहेका छैनन्।
भारतको प्रसिद्ध मुम्बईको वानखेडे रंगशालामा बिहीबार नेपालले यसै विश्वकपमा डेब्यू गरेको एक्लो टोली इटालीविरूद्ध दश विकेटको हार ब्यहोर्दा समर्थकसँगै खेलाडी पनि स्तब्ध थिए।
खेल सकिएको एक घण्टापछि रंगशालाबाहिर भेटिएका दर्शक निराश देखिन्थे। लाग्थ्यो १० विकेटको लज्जास्पद हारका लागि उनीहरू तयार नै थिएनन्।
वानखेडेमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल अन्तिम तीन बल खेल्न बाँकी छदा १२३ रनमा अलआउट भएको थियो।
तर पनि नेपाली समर्थकले आफ्नो टोलीको विश्वास गुमाइसकेका थिएनन्। १२४ रनको लक्ष्य डिफेन्ड हुन सक्नेमा आशावादी थिए। तर बलिङमा पनि नेपाल फिक्का सावित भयो। कुनै पनि विकेट लिन सकेन।
दोस्रो ओभरमा कुशल भुर्तेल पाँच रनमा आउट भएपछि आसिफ शेख र कप्तान रोहितकुमार पौडेल मिलेर पावरप्लेमा केही राम्रो सुरुवात गरे। उनीहरुबीच ४१ रनको साझेदारी भयो। फेरी आरिफ शेखले दीपेन्द्रसिंह ऐरीसँग ४४ रनको अर्को साझेदारी गरे। फेरि दीपेन्द्र आउट भएपछि नेपालले रनको गति बढाउन सकेन।
यसले गर्दा नेपालको स्कोर सानो भयो र इटालीले सजिलै चेज गर्यो।
नेपालको ब्याटिङमा आरिफ शेखले सबैभन्दा बढी २७ रन बनाए। रोहित पौडेलले दुई छक्का हाने तर छिट्टै आउट भए।
९३/४ को अवस्थाबाट नेपाल १०२/८ को अवस्थामा पुग्यो। मध्यक्रमको यो कोल्याप्स नै नेपालको हारको प्रमुख कारण बन्यो। नेपालका लागि कुशल भुर्तेल (५ रन), लोकेश बम (३), गुल्सन झा (३), नन्दन यादव (०), सन्दीप लामिछाने (५) र ललित राजवंशी (०) ले दोहोरो अंकमा रन बनाउन सकेनन्। आसिफ शेख (२०), रोहित पौडेल (२३), दीपेन्द्रसिंह ऐरी (१७), आरिफ शेख (२७) र करण केसी (१८*) ले मात्र दोहोरो अंकमा रन बनाउन सके।
नेपालको ब्याटिङ कोलाप्स पार्न इटालीका क्रिशन कालुगामेजको लेग स्पिन निकै प्रभावकारी रह्यो। उनले ३ विकेट लिए (१८ रन दिएर) र उनले नै नेपालका भरपर्दा ब्याटर दीपेन्द्रसिंह ऐरीलाई गुगली बलमा बोल्ड गरेका थिए। यसले नेपालको मध्यक्रमलाई पूरै ध्वस्त पार्यो।
इटालीका स्पिनरहरूले नेपाललाई धेरै दबाब दिए। बेन मानेन्टी, जेजे स्मट्स र अली हसनले मिलेर १२ ओभरमा ६ विकेट लिएर मात्र ४९ रन दिए। उनीहरुको बलिङले नेपालको ब्याटिङलाई पूर्णरूपमा नियन्त्रणमा राख्यो। पिच स्पिनलाई धेरै फाइदा दियो।
नेपालका ब्याटरहरूले वानखेडेको कन्डिसनमा राम्रोसँग खेल्न सकेनन्। खराब रनिङ र गलत शट छनोट पनि हारको ठूलो कारण बन्यो। नेपालका ब्याटर पावर हिटिङ गर्न चुक्दा सर्टहरू फिल्डरकै हातमा पुगे। जसमा इटालीका कुनै पनि फिल्डरले गल्ती गरेनन्। अर्को तर्फ इटालीले उत्कृष्ट फिल्डिङ गर्यो।
आसिफ शेख स्टम्पिङ आउट भए। किनकि उनी क्रिजमा ठीकसँग टेकेका थिएनन्। यस्ता स-साना गल्तीले ठूलो असर पार्यो। यसले नेपाललाई सानो स्कोरमा रोकेको थियो। इटालीका लागि ओपनर जस्टिन मोस्का (६०* रन) र एन्थोनी मोस्का (६२* रन) ले १० विकेटले जित दिलाए। एन्थोनीले २८ बलमा अर्धशतक बनाए। जस्टिनले करण केसीको ओभरमा १४ रन लिए र ललित राजबंशीलाई छक्का हाने।
क्रिशन कालुगामेज (३ विकेट १८ रन) प्लेयर अफ द म्याच भए। इटालीका कप्तान ह्यारी मानेन्टीले भने, ‘हाम्रो लक्ष्य यो स्तरमा प्रतिस्पर्धा गर्ने थियो। स्कटल्यान्डविरुद्ध हामीले राम्रो गरेनौं तर आज विश्वलाई आफ्नो क्षमता देखायौं।’
नेपालको हारमा ब्याटिङ कोलाप्स मुख्य थियो। ९३/४ बाट १०२/८ पुग्नुले मध्यक्रमले दबाब झेल्न नसकेको देखाएको छ। नेपालले स्पिनविरुद्ध राम्रो खेल्न सकेन। खराब शट छनोटले दबाबमा विकेट खसिरह्यो।
नेपालका लागि सर्वाधिक रन बनाएका आरिफले नेपालको ब्याटिङबारे भने, ‘म र दीपेन्द्र ब्याटिङ गर्दा प्रति ओभर ८-९ रन बनाउने योजना थियो र हामीले त्यसै गर्यौं। तर दीपेन्द्र आउट भएपछि हामी कोल्याप्स भयौ। इटालीका बलरले राम्रोसँग कन्डिसन प्रयोग गरे।’
ब्याटिङमा गति बढाउन नसक्नु ठूलो समस्या थियो। पावरप्लेपछि पनि रन रेट बढाउन नसक्दा पनि नेपाल दबाबमा पर्यो। स्पिनरहरूले मध्य ओभरमा पूर्ण नियन्त्रण लिए। कालुगामेजको गुगलीले ऐरीलाई आउट गर्दा नेपालको आशा टुट्यो। अन्य स्पिनरहरूले पनि विकेट लिए।
नेपालले खराब नतिजा हात पारेको दिन इटालीका लागि भने ऐतिहासिक दिन सावित भयो। जसमा इटाली टोली निकै भावुक बन्यो। कतिपय खेलाडीका आँखामा आँसु थिए। कप्तानीको भूमिका रहेका ह्यारी मानेन्टीले पनि यो जितलाई इटाली क्रिकेटको लागि टर्निङ प्वाइन्ट बताए। उनले भने, ‘यो जितपछि मैले फोनमा मेरी नोना (हजुरआमा) र बुबाको सन्देश पाएँ। यो इटालीको लागि प्रतिनिधित्व गर्नु विशेष छ। मोस्का दाजुभाइ रोएका थिए, जसले हामीलाई भावुक बनायो। इटाली क्रिकेटले विश्वमा आफ्नो छाप छोड्नेछ।’
मानेन्टीले इटालीका खेलाडीको संघर्ष उल्लेख गर्दै भने, ‘हाम्रा १५ मध्ये १२ खेलाडीले क्रिकेटबाहेक काम गर्नुपर्छ। क्रिशन कालुगामेजले पिज्जा बनाएर जीविका चलाउँछन् र आज म्यान अफ द म्याच बने। यो जितले इटालीमा क्रिकेटको विकासमा योगदान दिनेछ।’
यो हारले नेपालको सुपर ८ यात्रालाई कठिन बनाएको छ। इटालीका लागि यो ऐतिहासिक जित हो, जसमा मोस्का ब्रदर्स (एन्थोनी र जस्टिन) ले अर्धशतक प्रहार गर्दै लक्ष्य पूरा गरे। नेपालले अब अर्को खेल वेस्ट इन्डिज राम्रो प्रदर्शन गर्नुपर्ने दबाब छ। नेपालले आइतबार वानखेडेमै वेस्ट इन्डिजसँग खेल्न लागेको हो।