आइसिसी टी–२० विश्वकप २०२६ मा नेपालले आज इटालीसँग दोस्रो खेल खेल्दैछ।
यो खेल नेपालका लागि ‘मस्ट विन’ रहेको छ। यो खेलमा टस हारेको नेपालले मुम्बईको वानखेडे रंगशालामा पहिले ब्याटिङ गर्दैछ। सन् २०१३ मा नेपालले अन्तिम पटक इटालीसँग खेलेको बेला नेपाली टोलीमा रहेका पूर्वराष्ट्रिय खेलाडी पृथु बाँस्कोटा अहिले दर्शकका रूपमा मैदानमा छन्। उनले आजको खेललाई लिएर ठूलो उत्साह व्यक्त गरेका छन्।
पृथुले भने, ‘एकदमै एक्साइटेड छु। आज हाम्रो लागि मस्ट विन गेम हो। २०१३ मा डिभिजन थ्रीमा बर्मुडा इटालीसँग खेलेका थियौं। त्यो पनि मस्ट विन गेम थियो र हामीले १२९ रनको लक्ष्य ८ विकेटले चाडै चेज गरेर कम्फर्टेबली जितेका थियौं। रन रेटको हिसाबले पनि ठूलो मार्जिन चाहिन्थ्यो, त्यही भयो। आज पनि होपफुल्ली त्यस्तै जित्छौं।’
सन् २०१३ को त्यो खेलमा पृथुले ब्याटिङ वा बलिङमा खास योगदान गर्नुपरेको थिएन। तर टोलीले रन रेट सुधारका लागि ठूलो जित हासिल गरेको थियो। उनले १३ वर्षअघिको म्याच सम्झिए, ‘ब्याटिङ गर्नुपरेन, बलिङ गर्नुपरेन तर गुड विन थियो।’
अहिलेको नेपाली टोलीमा २०१३ को कुनै पनि खेलाडी छैनन्। पृथुले भने, ‘टिम पूरै चेन्ज भइसकेको छ। तर नेपालको टिम एकदमै वेल ब्यालेन्स छ। इङ्ल्यान्डसँगको खेलमा केटाहरूले जुन प्रदर्शन गरे, त्यही गरे भने इटालीलाई कन्भिन्सिङ जित हासिल गर्छौं जस्तो लाग्छ।’
इटाली टोलीबारे उनले भने, ‘इटाली पनि राम्रो टिम हो। एक्सपिरियन्स प्लेयरहरू छन्, साउथ अफ्रिकाबाट खेलिसकेका पनि छन्। राम्रो कम्पिटिसन हुन्छ। तर नेपालले होमवर्क राम्रोसँग गरेको छ। उनीहरूका ओपनरहरू, स्विङ बलरहरू (अली हसन जस्ता) को प्लान के हो, कहाँ स्ट्यान्ड गर्न सकिन्छ भन्ने सबै स्टडी गरेर आएको छ। त्यसैले हामीले जित हासिल गर्न सक्छौं।’
मुम्बईमा नेपाली दर्शकको उपस्थिति निकै उत्साहजनक रहेको पृथुले बताए। ‘इङ्ल्यान्डसँगको खेलमा क्राउडको एनर्जी एकदमै थियो। इङ्ल्यान्डका खेलाडीले पनि तारिफ गरेका थिए। आज पनि ठूलो भीड लाग्ने अपेक्षा छ,’ उनले भने।
अन्डर–१९ विश्वकपमा कप्तानी गरेका पृथुले दर्शकका रूपमा ई हेर्दा विशेष अनुभूति हुने बताए। ‘बाहिरबाट हेर्दा झन् ढुकढुक हुन्छ। इङ्ल्यान्डसँगको क्लोज म्याचमा त हार्टबिट नै बढेको थियो। तर देशको प्रतिनिधित्व गर्दा बाहिर आएर क्राउडको सपोर्ट पाउँदा अलग्गै फिलिङ हुन्छ। म एकदमै खुसी छु,’ उनले भने।
समग्र विश्वकपमा एसोसिएट टिमहरूले टेस्ट राष्ट्रहरूलाई राम्रो टक्कर दिइरहेको उनले उल्लेख गरे। उनले भने ‘क्यानडा, यूएईले राम्रो प्रदर्शन गरिरहेका छन्। नेपालले पनि एउटा ठूलो जित हासिल गर्न सक्छ। इटालीले यूएई, क्यानडा र आयरल्यान्डलाई हराइसकेको छ, त्यसैले अलर्ट हुनुपर्छ। तर नेपालले राम्रो होमवर्क गरेको छ, जित्ने सम्भावना धेरै छ।’