आफ्नै दाइकी छोरी (भतिजी) लाई जबरजस्ती करणी गरेको आरोपमा गुल्मीमा एक जना पक्राउ परेका छन्।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर २ का १९ वर्षीया युवकलाई आफ्नै दाइको १० वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डेले आफ्नै भतिजीलाई लुकामारी खेल्ने भन्दै नजिकैको जंगलमा लगेर मंगलबार करणी गरेको जानकारी दिए।
घटना मंगलबार भएको भए पनि बालिकाकी आमाले दुई दिनपछि बिहीबारमात्रै प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपित युवकलाई पक्राउ गरेको हो।
जबरजस्ती करणी गरेको कुरा कसैलाई भने मारिदिने धम्की दिएका कारण बालिकाले दुई दिनसम्म घटना लुकाएको र बिहीबार आमालाई भनेपछि पीडित परिवारले प्रहरीमा उजुरी दिएको बताएका छन्।
बालिकाकी आमाको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक सुवराज बमको नेतृत्वमा गएको प्रहरी टोलीले युवकलाई पक्राउ गरेको सूचना अधिकारी पाण्डेले जानकारी दिए।
प्रहरीले पक्राउ परेका युवकलाई सात दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको जनाएको छ।
बालिकालाई भने स्वास्थ्य परीक्षण गरी बुवाको जिम्मा लगाइएको पाण्डेले जानकारी दिए।