दाङको तुलसीपुरबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित आमा-छोरा पक्राउ परेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर- ६ विद्युत पछाडि घर भई तुलसीपुर ५ स्थित माइतीघरमा बस्दै आएकी ३८ वर्षीया सुशीला श्रेष्ठ र उनका १८ वर्षीय छोरा रोहन श्रेष्ठ ब्राउन सुगरका १०० वटा पुरियासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले ।
उनीहरुको साथबाट ९९ वटा साना पुरिया र एउटा ठूलो पुरिया गरी एक सय वटा ब्राउन सुगरका पुरिया फेला परेको जनाइएको छ। प्लास्टिक हटाएर तौल गर्दा १९ ग्राम ७१० मिली ग्राम तौलको ब्राउन सुगर बरामद भएको अर्यालले बताए।
'शनिबार बेलुका हामीले आमा-छोरालाई सँगै बसेर ब्राउन सुगरको पुरिया बनाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएका हौं,' डिएसपी अर्यालले भने, 'त्यो ब्राउन सुगर वितरण गर्ने तुलसीपुरको खास डिलर नै रहेछ।'
गोप्य सूचनाको आधारमा डिएसपी अर्यालकै नेतृत्वमा बेलुका पुगेको प्रहरीले श्रेष्ठका आमा-छोरालाई बजारमा पठाउनका लागि ब्राउन सुगरको पुरिया बनाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
डिएसपी अर्यालका अनुसार सुशीलाका श्रीमान् वसन्त श्रेष्ठले छिमेकी देश भारतबाट ब्राउन सुगर खरिद गरी ल्याउने र घरमा ल्याएर आमा-छोराले पुरिया बनाएर ग्राहक खोजेर बेच्ने गरेको तथ्य उजागर भएको छ।
'श्रीमानले भारतबाट ब्राउन सुगर ल्याउने र आमा-छोराले पुरिया बनाएर बजारमा सप्लाई गर्दा रहेछन्,' डिएसपी अर्यालले भने ' हामीले फरार वसन्त श्रेष्ठको खोजी कार्य जारी राखेका छौं।'
उनीहरुले एउटा पुरियालाई कम्तीमा एक हजारदेखि १५ सयसम्म बिक्री गर्ने गरेको बयान दिएका छन्। प्रहरीले श्रेष्ठका आमा-छोरा दुवै युजर रहेको समेत बताएको छ। नियन्त्रणमा रहेका आमा-छोरामाथि थप अनुसन्धान भइरहेको छ।
शनिबार नै प्रहरीले तुलसीपुरबाट थप दुई जना युवालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। तुलसीपुर ५ बसपार्कबाट २५ वर्षीय धिरज बुढाथोकी र बबई गाउँपालिका वडा नम्बर ४ घर भई हाल तुलसीपुर ६ बरुवा गाउँमा कोठा भाडामा बस्ने २० वर्षीय प्रख्यात शाह पक्राउ परेका छन्।
उनीहरुले लागु औषध बिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरिक्षक झलकप्रशाद शर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले बसपार्कबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
बुढाथोकीको साथबाट बरामद पाँच पुरिया ब्राउन सुगर प्लास्टिक हटाएर तौल गर्दा त्यसको तौल ५४० ग्राम र शाहको साथबाट बरामद चार पुरिया ब्राउन सुगर प्लास्टिक हटाएर तौल गर्दा २६० ग्राम तौल पुगेको प्रहरीले जनाएको छ।
पक्राउ परेका बुढाथोकी र शाहमाथि पनि आवश्यक अनुसन्धान जारी रहेको डिएसपी अर्यालले बताए। उनीहरुमाथि प्रतिबन्धित लागुपदार्थ ओसार-प्रसार तथा बिक्री वितणरण विरुद्धको मुद्दा चलाएर आवश्यक कारबाही थालिने उनले जानकारी दिए।