आफ्नो काम, आफ्नो जीवनभन्दा अरूको चियो चर्चा गर्ने हाम्रो नेपाली समाज वास्तवमै अनौठो छ। प्रगति गर्न खोजे खुट्टा तान्ने, असफल भए खुच्चिङ मार्ने र सफल भए गल्ती नै गरे पनि पूजा नै गर्ने प्रवृत्ति हाम्रो समाजमा अझै विद्यमान छ।
आफूभन्दा प्रगति गरून् भन्ने सोच्ने आफ्नो आमाबुवा मात्रै हुन् रे! बाँकी सबैलाई आफूभन्दा अगाडि नपुगिदियोस् भन्ने नै लाग्छ रे! हुन त जीवन कुनै प्रतियोगिता होइन कोभन्दा को अगाडि भन्ने होडबाजी गर्न तर पनि समाजमा मानिसहरूबीच एउटा लुकेको प्रतिस्पर्धा चलिरहेको हुने रहेछ।
आफूले गर्न नपाएको/नसकेको काम अरू कसैले गर्यो, आफूले भोगचलन गर्न नपाएको सुविधा अरूले उपभोग गर्न पायो, आफूले खोजेको तर नपाएको स्वतन्त्रता अरू कसैले पायो भने जो कोहीलाई एक किसिमको रिसराग र ईर्ष्या अर्को मान्छेप्रति पलाउने रहेछ।
यस्तो ईर्ष्याको भावना प्रायजसो आफन्तजनमा आउँदो रहेछ। आमाबुबा र छोराछोरीबाहेक, आफ्नै दाजुभाइ–दिदीबहिनीदेखि लिएर आमाबुबाका दाजुभाइ–दिदीबहिनीहरूसम्मले पनि कसैले अघि बढ्दा एक किसिमको चुनौती महसुस गर्ने रहेछन्।
आफ्नो नाता भएको जो कोही व्यक्ति अगाडि बढ्दा आफूलाई प्रत्यक्ष-अप्रत्यक्ष रूपमा फाइदा नै हुन्छ तर खै किन हो धेरैलाई अरूको सफलताले पिरोल्दो रहेछ।
पश्चिमी मुलुकहरूमा हामीकहाँ जस्तो संयुक्त परिवारको अवधारणा खासै छैन र त्यहाँ मानिसहरू एकअर्काबाट निकै नै कम अपेक्षा राख्छन्। त्यसैले होला त्यहाँको समाज निकै नै प्रगतिशील छ।
सबै जना आफ्नो काममा व्यस्त छन्; नयाँ कुरा खोज्ने, विकासोन्मुख काम गर्ने, र त्यसैमा आफ्नो ऊर्जा लगाउने काममा लागिपरेका छन्। यस्तो जीवनशैलीले गर्दा उनीहरूमा अरूको चियोचर्चा गर्ने प्रवृत्ति विकास नै हुन पाउँदैन।
हरेक समाजको आफ्नै राम्रो नराम्रो पक्ष त भई नै हाल्छ, पश्चिमा समाजबाट हामीले सिक्नै पर्ने कुरा चाहिँ अरूको जीवनमा धेरै चासो नदिने, अरूबाट धेरै अपेक्षा पनि नराख्ने, आफ्नो मनको कुरा नभनी अरूले बुझिदिन्छ भन्ने गलत अपेक्षा नगर्ने र खुला संवादको संस्कार विकास गर्ने ताकि मनमा गाँठो परेको गुनासो ईर्ष्यामा परिणत नहोस्।
आजको समयमा हर कोही आफ्नो काममा व्यस्त नै छ तर यो ईर्ष्या भन्ने कुरा चाहिँ प्रवृत्ति रहेछ। व्यस्त नै भए पनि अलिकति फुर्सद भयो कि अरूको बारेमा कुरा गर्ने, अरूसँग आफूलाई तुलना गर्ने र आजकाल त सामाजिक सञ्जालमार्फत् समेत एक अर्काको चियोचर्चा गरी बस्ने बानी मानिसहरूमा व्याप्त छ। यस्तो प्रवृत्तिले हामीलाई प्रगतिको बाटोमा अलिकति पनि डोर्याउँदैन बरू दुर्गतितिर धकेलिदिन्छ।
एउटा पुस्ताले नपाएको सुविधा अर्को पुस्ताले पाउनु भनेको समाजको प्रगति हो। तर दुर्भाग्यवश, धेरैले यसलाई सकारात्मक परिवर्तनको रूपमा बुझ्न सक्दैनन्। आफूले नपाएको कुरा अरूले पाएपछि आफूपछि परेको महसुस हुने र त्यसबाट ईर्ष्या उत्पन्न हुने प्रवृत्ति देखिन्छ। यदि हामीले 'ब्रोड पिक्चर' हेर्न सक्ने दृष्टिकोणको विकास गर्यौँ भने, अरूको प्रगति देख्दा पनि खुसी हुन सक्थ्यौँ किनकि त्यो प्रगति हाम्रो समाज र समुदायकै समृद्धिको संकेत हो।
विकास भनेको भवन वा सडक मात्र होइन, सोचमा भएको परिवर्तन हो। आज धेरैले आफ्नो जीवनस्तर त उकासेका छन्, तर सोच पुरानै बोकेका छन्। त्यसैले हाम्रो समाजको सन्दर्भमा 'शिक्षित मूर्ख' भन्ने शब्दले गम्भीर अर्थ राख्छ। हामीले नयाँ पुस्ताको सफलता देखेर ईर्ष्या गर्ने होइन, खुसी हुन सिक्नुपर्छ। सामाजिक विकासको सूत्र यही परिवर्तनशील सोचमा लुकेको छ।