केहीदिन अघि एउटा भिडिओ मैले सामाजिक सञ्जालमा जताततै छरपष्ट भएको देखेँ।
भिडिओ हेर्दा अनौठो र चिन्ताजनक दृश्य थियो। कुनै विद्यालयले साना बालबालिकालाई विद्यालयमै विवाहको मण्डप बनाएर हिन्दू परम्परा अनुसार विवाहका सम्पूर्ण प्रक्रिया गराएको पाइयो।
अनुहार हेर्दा ती बालबालिका निकै साना र कच्चा उमेरका थिए। विद्यालयको प्रांगण पूरै सजाइएको, विवाहको मण्डप बनाइएको, बालिकालाई बेहुलीको भेषमा र बालकलाई दुलाहा भनेर सजाइ, कन्यादानदेखि बिदाइसम्मका सबै कार्य गराइएको थियो।
सम्पूर्ण प्रक्रिया माइकबाट घोषणा गरिन्थ्यो, ताली बजाइन्थ्यो। हेर्दा यो दृश्य केही मानिसलाई सामान्य लाग्न सक्छ, तर यसको गहिराइमा गएर विचार गर्दा ठूलो समस्या देखिन्छ।
कच्चा उमेरका बालबालिकाले यस्तो विषयवस्तु बुझ्न वा कल्पना गर्न सक्दैनन्।
एक परिपक्व व्यक्तिले समेत विवाहको निर्णय लिन समय र बुझाइ आवश्यक हुन्छ। बालबालिकालाई यसरी प्रयोग गर्नु मानसिक र सामाजिक रूपमा खतरनाक छ।
सामाजिक सञ्जालका प्रतिक्रियाहरू हेर्दा अधिकांश प्रतिक्रियाहरू विद्यालयले अपनाएको उक्त प्रणाली र अभ्यासको विपक्षमा थिए, र धेरैले यसलाई असंवेदनशील तथा गलत अभ्यासको रूपमा आलोचना गरेका थिए।
यस विषयमा केही खोज तथा अनुसन्धान गरेर बुझ्दा विद्यालयको उद्देश्य बालबालिकालाई विवाह संस्कार सिकाउनु थियो। तर संस्कार र संस्कृति सबै ठाउँमा एउटै हुँदैन। स्थान, परिवेश र विश्वासअनुसार फरक हुन्छ। एउटै संस्कारलाई अरू ठाउँमा अनिवार्य ठान्न सकिँदैन।
संस्कार र संस्कृतिको विरोध गर्नु हुँदैन र गर्न सकिँदैन पनि, यदि ती सही सन्दर्भमा, सन्तुलित र सकारात्मक ढंगले अपनाइएका छन् भने। बालबालिकालाई सिकाउनु पर्छ—कसरी राम्रो मूल्य, अनुशासन, व्यवहार र सोच विकास हुन्छ। तर भविष्यमा निर्णय लिन नसक्ने कुराहरू प्रयोग गरेर देखाउनु अस्वीकार्य छ।
भनिन्छ, विद्यालय कुनै पनि व्यक्तिको जीवनको दोस्रो पाठशाला मात्र होइन, दोस्रो घर पनि हो, किनकि मानिसले आफ्नो जीवनको ठूलो समय विद्यालयमै बिताउँछ। विद्यालयमा बालबालिकालाई विभिन्न प्रकारका संस्कार, मूल्य र व्यवहार सिकाइन्छ। एउटा स्पष्ट उद्देश्यका साथ उनीहरूको पठनपाठन प्रक्रिया अघि बढाइन्छ, जसले उनीहरू कसरी जीवनमा अघि बढ्ने हुन् भन्ने दिशामा मार्गदर्शन गर्छ। यस क्रममा उनीहरूको मानसिकता विकास गर्ने, आत्मविश्वास बढाउने, र समाजमा चलिआएका नियम, परम्परा, इतिहास तथा मूल्यहरू सिकाइन्छ।
तर यहाँ एउटा महत्वपूर्ण प्रश्न उठ्छ: के हामी संस्कार र संस्कृति सिकाउने नाममा गलत दिशातर्फ त गइरहेका छैनौँ? अहिलेको पुस्तालाई वास्तवमै के आवश्यक छ? आजका पुस्ताले समाज, परिवेश, संस्कार र संस्कृतिलाई कसरी हेर्दैछन्? यी प्रश्नहरूलाई गम्भीरतापूर्वक नसोची केवल परम्पराको नाममा शिक्षा दिनु उचित हुन्छ कि हुँदैन भन्ने कुरा सोच्नुपर्ने समय आएको छ।
विद्यालयले केवल किताबी ज्ञान मात्र होइन, समयअनुकूल सोच, विवेकशीलता र स्वतन्त्र विचार गर्न सक्ने क्षमता पनि विकास गराउनुपर्छ। नत्र भने संस्कार सिकाउने नाममा हामी वर्तमान पुस्तालाई भविष्यका लागि तयार पार्न असफल त भइरहेका छैनौँ भन्ने आत्ममूल्याङ्कन आवश्यक छ।
विद्यालयलाई 'दोस्रो पाठशाला' मान्दा, हामीले स्पष्ट हुनुपर्छ—के सिकाउने, के नसिकाउने? कस्तो संस्कार सिकाउने, कस्तो तरिकाबाट सिकाउने? अभिभावकहरू, प्रशासन र शिक्षक सबैले यस विषयमा सचेत हुनु आवश्यक छ।
बच्चा जन्मिएसँगै हरेक ठाउँको आफ्नै किसिमको संस्कार र संस्कृति उसँग जोडिन थाल्छ। घर–परिवारको हुर्काइ, वरिपरिको समाजमा उसले देख्ने व्यवहार, चालचलन र मूल्यहरू सबै संस्कार–संस्कृतिभित्र पर्छन्। संस्कार र संस्कृति भन्नाले केवल चाडपर्व मनाउनु मात्र होइन; बोल्ने शैली, बस्ने–उठ्ने तरिका, कसैलाई भेट्दा गरिने कसैलाई भेट्दा गरिने स्वागत–सत्कार र सामान्य आचरण, व्यवहार र सोचसमेत यसैका अङ्ग हुन्।
बालक जन्मिँदा ऊ एउटा नयाँ संसारमा प्रवेश गर्छ र बिस्तारै वरिपरिका कुराहरू देख्दै, बुझ्दै र सिक्दै जान्छ। संसारका हरेक देश र समुदायका आफ्नै रीतिरिवाज, चालचलन र संस्कृति हुन्छन्। हामी नेपालीहरूका पनि दशैं, तिहार, बुद्धजयन्ती जस्ता आफ्नै चाडपर्व र परम्पराहरू छन्। तर समयसँगै मानिसका धारणा बदलिँदै गएका छन्। विज्ञान, प्रविधि र सामाजिक परिवर्तनसँगै संस्कार–संस्कृति र चाडपर्व मनाउने तरिका पनि क्रमशः रूपान्तरण हुँदै गएको देखिन्छ।
यसै सन्दर्भमा एउटा बहस चलिरहेको छ। के अहिलेको युवापुस्ताले संस्कार र संस्कृति बिर्सँदै गइरहेको छ? कतिपयले युवाहरूले चासो दिन छोडे भनेर चिन्ता व्यक्त गर्छन्। अर्कोतर्फ, युवापुस्ताले भने केही परम्पराहरूलाई समयसापेक्ष नभएको, पुरानो सोचमा आधारित भनेर प्रश्न गरिरहेका छन्। उनीहरू संस्कार–संस्कृतिलाई आधुनिक जीवनशैली, विज्ञान र प्रविधिसँग जोडेर बुझ्न खोजिरहेका छन्।
ग्लोबलाइजेसनको प्रभावले मानिसहरू संसारभर फैलिएका छन्। नेपालीहरू पनि देश–विदेशमा बसिरहेका छन्। नयाँ ठाउँको भाषा, परिवेश र संस्कृतिको प्रभावले आफ्ना परम्परा मनाउने तरिका फरक हुनु स्वाभाविक हो। यस्ता अवस्थामा बालबालिकालाई संस्कार–संस्कृति सिकाउनु अझ आवश्यक हुन्छ, तर त्यसको तरिका संवेदनशील र सन्तुलित हुनुपर्छ।
केही विज्ञहरूसँगको छलफलमा एउटा महत्वपूर्ण प्रश्न उठ्छ। सबै कुरा विद्यालयले नै सिकाउनुपर्छ त? विद्यालयमा मेहेन्दी कार्यक्रम, दशैं–तिहार, तीज वा क्रिसमस मनाइएका उदाहरण देखिन्छन्। कतिपयको तर्क छ, यस्ता कार्यक्रमले बालबालिकालाई आफ्नो संस्कृति बुझ्न सहयोग गर्छन् र ती नकारात्मक होइनन्। अर्कोतर्फ, यस्ता कुरा घर–परिवारबाट नै सिकिनुपर्ने मत पनि उत्तिकै बलियो छ। यस्ता विषयहरू विद्यालयमा गृहकार्य वा परियोजना कार्यका रूपमा दिन सकिन्छ। स्वतःस्फूर्त, रमाइलो र मर्यादित ढंगले विद्यालयमा चाडपर्व मनाइएमा त्यसलाई नकारात्मक रूपमा लिनु आवश्यक छैन। तर मूल प्रश्न कार्यक्रम गरियो कि गरिएन भन्ने होइन; त्यसले बालबालिकाको मनोविज्ञानमा कस्तो प्रभाव पार्छ, कसरी प्रस्तुत गरिन्छ र के सन्देश दिन्छ भन्ने कुरा हो।
एउटा विद्यालयमा मेहेन्दी कार्यक्रम आयोजना गरिएको रहेछ। विद्यालयको पेजमा मेहेन्दी गरिएका फोटो र भिडियोहरू पार्ट–पार्ट गरेर राखिएका थिए। त्यसमा विभिन्न किसिमका प्रतिक्रियाहरू देखिन्थे। कतिपयले मेहेन्दी हाम्रो संस्कारमा पर्दैन भन्दै आलोचना गरेका थिए भने केहीले त्यसलाई बालबालिकाका लागि सिर्जनात्मक कला मान्दै चित्र बनाउने, रङ भर्ने जस्ता सीप विकाससँग जोडेर हेरेका थिए।
मैले केही व्यक्तिसँग यस विषयमा कुरा गर्दा पनि यस्तै मिश्रित धारणा सुन्न पाएँ। यदि मेहेन्दीलाई बालबालिकालाई रेखाचित्र, रङको संयोजन र सृजनात्मक अभिव्यक्तिको माध्यमका रूपमा सिकाइन्छ भने त्यसलाई नकारात्मक रूपमा लिनुपर्ने देखिँदैन। तर जब यसलाई जबर्जस्ती “संस्कार सिकाउने” नाममा प्रस्तुत गरिन्छ, त्यतिबेला भने प्रश्न उठ्नु स्वाभाविक हुन्छ।
कतिपयले यसलाई भारतको संस्कृति भनेर पनि टिप्पणी गर्छन्। तर अहिलेको समयमा सामाजिक सञ्जाल र प्रविधिका कारण एउटा ठाउँको अभ्यास अर्को ठाउँमा सहजै पुगिरहेको छ। संस्कृतिहरू एक–अर्काबाट प्रभावित हुनु नयाँ कुरा होइन। प्रश्न यसको उत्पत्तिभन्दा पनि यसको प्रस्तुति र उद्देश्य के हो भन्नेमा केन्द्रित हुनुपर्छ। अर्थात्, बालबालिकालाई के सिकाइँदैछ, कसरी सिकाइँदैछ र त्यसले उनीहरूको सोच र मनोविज्ञानमा कस्तो प्रभाव पार्छ—यिनै कुरामा हाम्रो ध्यान जानु आवश्यक छ। यही सन्दर्भमा विद्यालयले कार्यक्रम आयोजना गर्दा उद्देश्य, सन्देश र सन्दर्भप्रति अझ सचेत हुनुपर्ने देखिन्छ।
कतिपय अभिभावकहरूसँग विभिन्न सन्दर्भमा भेटघाट र कुराकानी हुँदा यस्ता गुनासाहरू सुन्न पाइन्छन्। विद्यालयले चाडपर्व मनाउने वा बालबालिकालाई सिकाउने नाममा कहिलेकाहीँ खानेकुरा अनिवार्य रूपमा ल्याउन लगाउने, कहिलेकाहीँ निश्चित किसिमका लुगा नै लगाएर आउनुपर्ने भनेर सूचना पठाउने गरेको भन्ने कुरा सुनिन्छ। कतिपयले यसलाई सामान्य ठान्छन्। बच्चाहरू रमाउनु, उत्सव मनाउनु र खुसी हुनु राम्रो कुरा हो भन्ने मत पनि छ। तर अर्कोतर्फ, कहिले कृष्णअष्टमी, कहिले अरू कुनै अवसर भन्दै बालबालिकालाई कृष्ण–राधाको भेषमा तयार पारेर पठाउन भनिँदा अभिभावकलाई लुगा व्यवस्थापन गर्न गाह्रो पर्ने अवस्था पनि देखिन्छ। ती लुगा प्रायः एक दिनका लागि मात्र प्रयोग हुने हुँदा पछि प्रयोग नहुने, खर्च खेर जाने भन्ने गुनासोहरू पनि आउँछन्।
आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यो झन् ठूलो समस्या हुन सक्छ। कृष्ण जन्माष्टमी तथा अन्य कुनै चाडपर्व मनाउनु, त्यसको महत्व बालबालिकालाई बुझाउनु वा सान्दर्भिक कुराहरू सिकाउनु आफैंमा गलत होइन। तर कुनै पनि कार्यक्रम जबर्जस्ती रूपमा लागू गर्नु उचित हुँदैन।
विभिन्न अभिभावकहरूसँग कुरा गर्दा पनि 'लुगा किन्न बाध्य पारिन्छ', 'प्रयोग नहुने सामान जोहो गर्नुपर्छ' भन्ने चिन्ता व्यक्त गरिएको पाइयो।
यस्तो अवस्थामा बालबालिकाले पनि अपेक्षित खुसी र सहजता महसुस गर्न सक्दैनन्। किनभने बच्चाले बाबुआमाले गरेका गुनासोहरू, भोगेका समस्या र घरमा सुनेका कुरा अनुभवको रूपमा ग्रहण गर्छन्।
यदि बाबुआमाले ती समस्या समाधान गर्न सकेनन् भने बच्चाले विद्यालयमा जान वा कार्यक्रममा सहभागी हुन मन नलाग्ने, साथै आफूलाई पछि परेको वा कमजोर ठान्ने मानसिक अवस्था बन्न सक्छ।
कुनै पनि गतिविधि स्वतःस्फूर्त र ऐच्छिक हुनुपर्छ। किन गरिँदैछ, यसको उद्देश्य के हो र यसले बालबालिकालाई कस्तो मूल्य सिकाउँछ भन्ने कुरा स्पष्ट हुन जरूरी छ। सबै कुरालाई नकारात्मक रूपमा हेर्नु उचित हुँदैन, तर कुनै पनि गतिविधि जबर्जस्ती रूपमा थोपर्नु पनि सही अभ्यास होइन। सन्तुलन र संवेदनशीलता नै यहाँ मुख्य कुरा हो।
अनुशासन र मर्यादाभित्र रहेर दशैं, तिहार, तीज वा क्रिसमस मनाउनु समस्या होइन। तर जब यस्ता कार्यक्रम बालबालिकाको मानसिक विकासमा दीर्घकालीन असर पार्ने ढंगले, अमर्यादित वा असान्दर्भिक रूपमा प्रस्तुत गरिन्छन्, तब गम्भीर रूपमा सोच्नुपर्ने हुन्छ। यसमा विद्यालय मात्र होइन, सम्बन्धित निकाय पनि सचेत हुन आवश्यक छ।
आजको समयमा बालबालिकालाई संस्कार र संस्कृति बुझाउनु सजिलो छैन। उनीहरू पहिलाजस्तो तरिकाले सिक्दैनन्। त्यसैले समयसापेक्ष, वैज्ञानिक र मनोवैज्ञानिक दृष्टिकोणबाट संस्कार र संस्कृति सिकाउने सोच र अभ्यास विकास गर्नु नै अहिलेको आवश्यकता हो।
संस्कार र संस्कृतिहरू बालबालिकालाई बुझाउनैपर्छ भन्ने कुरा निर्विवाद छ, तर त्यसका लागि अपनाइने तरिका झन् महत्त्वपूर्ण हुन्छ। विवाहजस्ता गम्भीर विषयवस्तुहरूलाई प्रत्यक्ष रूपमा प्रयोगात्मक ढंगले गराउनुको सट्टा कथा, संवाद, चित्र, भिडियोजस्ता सिर्जनात्मक र सुरक्षित माध्यममार्फत सहज रूपमा सिकाउन सकिन्छ।
अभिभावकहरूले पनि आफूलाई चित्त नबुझेका विषयहरू विद्यालयसँग खुला रूपमा राख्न सक्ने वातावरण हुनुपर्छ, र विद्यालय, शिक्षक, अभिभावक तथा अन्य जिम्मेवार निकायहरू आपसमा सहकार्य गर्दै अघि बढ्न सके भने बालबालिकाको मनोविज्ञानलाई चोट नपुर्याई सही दिशामा मार्गदर्शन गर्न सकिन्छ। यसरी सन्तुलित, संवेदनशील र साझा जिम्मेवारीका साथ काम गर्न सके भविष्यका चम्किला ताराहरूलाई उज्यालो दिशातर्फ बढाउन अवश्य सम्भव हुन्छ।
अन्ततः हरेक देश र हरेक समाजका आफ्नै किसिमका संस्कार र संस्कृतिहरू हुन्छन्। संस्कार–संस्कृतिलाई यही नै हो, यसरी नै मनाउनुपर्छ भनेर किटान गर्न सकिने कुनै वैज्ञानिक आधार हुँदैन। शास्त्रहरू लेखिएका छन्, पौराणिक कथाहरू छन्, तर तिनको व्याख्या समय, समाज र मानिसअनुसार फरक–फरक रूपमा हुँदै आएको छ। यद्यपि, हरेक चाडपर्वका आफ्नै महत्व र विशेषताहरू छन्- जसले हामीलाई एकतामा बाँध्छ, अनुशासन सिकाउँछ र सामाजिक सम्बन्ध मजबुत बनाउँछ।
ग्लोबलाइजेसन, विज्ञान र प्रविधिको विकाससँगै चाडपर्व मनाउने तरिकामा पनि परिवर्तन आएको छ। यस क्रममा राम्रा पक्षहरू जोगाउँदै लैजानु आवश्यक छ, तर परम्परा सधैं समयसापेक्ष हुनुपर्छ।
आजभन्दा पचास वा सय वर्षअघि सान्दर्भिक मानिएका धेरै कुरा अहिले सान्दर्भिक नहुन सक्छन्, र आजका अभ्यासहरू पनि भविष्यमा असान्दर्भिक ठहरिन सक्छन्। त्यसैले कुनै पनि परम्परा वा अभ्यास जबर्जस्ती रूपमा लागू गर्नु उचित हुँदैन।
हरेक विद्यालयको पहिलो दायित्व बालबालिकाको संरक्षण हो। कार्यक्रम र गतिविधि तय गर्दा बालबालिकाको मनोविज्ञान, सामाजिक परिवेश, आर्थिक अवस्था र समग्र विकासलाई ध्यानमा राख्नुपर्छ।
बालबालिका भविष्यका आधारस्तम्भ हुन्। उनीहरूले घर, परिवार, समाज र विद्यालयबाट जे सिक्छन्, त्यही आधारमा उनीहरूको सोच, धारणा र दृष्टिकोण निर्माण हुन्छ। यस दृष्टिकोण निर्माण गर्ने जिम्मेवारी घर, विद्यालय र समाज सबैको साझा दायित्व हो।
आजको समयमा बालबालिकालाई जिम्मेवार, उत्तरदायी र समयअनुसार आफूलाई समायोजन गर्न सक्ने नागरिक बनाउनु चुनौतीपूर्ण कार्य हो। यसका लागि राज्यका नीति–नियमदेखि स्थानीय तह, विद्यालय र प्रत्येक व्यक्तिसम्म सबैको सहकार्य आवश्यक छ। संस्कार, संस्कृति र चाडपर्वलाई केवल औपचारिक वा प्रदर्शनात्मक रूपमा होइन, संवेदनशील र अर्थपूर्ण ढंगले लिनुपर्छ। बालबालिकाको मनोविज्ञानमा नकारात्मक, असान्दर्भिक वा अवैज्ञानिक असर पार्ने अभ्यासहरू भने कुनै पनि हालतमा सिकाइनु हुँदैन।