नेपाली कांग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठले पार्टी सभापति शेर बहादुरलाई विशेष महाधिवेशनको बन्द सत्रमा कुर्ने बताएका छन्।
उद्घाटन समारोहमा बोल्दै सभापति श्रेष्ठले उद्घाटन समारोहमा उपस्थित नभएका देउवालाई बन्द सत्रमा उपस्थित हुन भनेका हुन्।
'भोलिको बन्द सत्रमा तपाईंको इन्तजार गरेर बस्नेछौं। नीतिगत कुराहरू बन्द सत्रमा गर्नेछौं,' उनले भने।
उनले सभापति देउवालाई ६ भाइको मात्रै कुरा नसुन्न पनि चेतावनी दिए।
'सभापति ज्यू ६ भाइका कुरा मात्रै नसुन्नुस। हामी पनि भाइ भतिजा हौं। यो जमातलाई कमजोर नठानियोस्,' उनले भने।
कमजोर ठानिए नीति अधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने अधिवेशन हुन सक्ने चेतावनी पनि उनले दिए।
कांग्रेसलाई अहिले सम्पूर्ण नेपालले हेरिरहेको र आजकै निर्णय हेरेर फागुन २१ मा मतदाताले मत हाल्ने उनको भनाइ छ। त्यसकारण सभापति देउवाको परीक्षणको घडी यही रहेको उनले बताए।
'अन्तिम घडी तपाईंको परीक्षणको घडी हो। सबै जनताले हेरिरहेका छन्। भोलि बन्द सत्रको हलमा आएर हामी एक छौं भनेर तपाईंको मुखारबिन्दुबाट आयो भने विशेष महाधिवेशन एकता महाधिवेशनमा परिणत हुन सक्छ,' उनले भने।