बैतडीमा जिप दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएका तीन जना र सात जना घाइतेको पहिचान खुलेको छ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा परी डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावत, सिगास गाउँपालिका–१ का २५ निशान्त बोहरा र सोही वडाका २८ वर्षीय भानदेव भट्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रमुख डिएसपी दीपककुमार राईले बताए।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार सिगास गाउँपालिका–१ की १९ वर्षीया विमला ऐर, सोही वडाकी २५ वर्षीया लालमणि बोहरा र २७ वर्षीया बसन्ती ऐरको अवस्था गम्भीर रहेको छ।
दुर्घटनाका घाइतेमध्ये सिगास–१ की ४ वर्षीया प्रन्सा ऐर, सिगास–१ दुधिलाखानका २८ वर्षीय चालक गणेश विष्ट, आलिताल गाउँपालिका – ३ का ३२ वर्षीय वीरेन्द्र बोहरा र बैतडीको पाटन नगरपालिका–८ की २५ वर्षीया कमला विष्टको अवस्था मध्यम छ।
घाइते सातै जनाको जिल्ला अस्पताल डडेल्धरामा उपचार जारी छ।
जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा मोतीनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी साढे दुई मिटर तल खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रवक्ता सिंहले सोमबार बिहान साढे १० बजेतिर भएको बोलेरो जिप दुर्घटनामा परेको बताए।
जिपमा १० जना सवार रहेको खुलेको छ।
जिप दुर्घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।