गत साता कतिपय कम्पनीको लाभांश दिएपछिको मूल्य समायोजनले सेयर मूल्य उच्च दरमा घट्यो।
नेसनल लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपर, प्राइम कमर्सियल बैंक र जीवन विकास लघुवित्तको सेयर मूल्य ८.६५ प्रतिशतदेखि १३.२१ प्रतिशतसम्म घट्यो।
यीमध्ये दुई यस्ता कम्पनी छन् जसको सेयर मूल्य लाभांश दिनुअघि र पछि धेरै अन्तर देखिँदैन।
अझ यी कम्पनीका सेयर लाभांश लिइसकेपछि पनि लगभग किनेकै मूल्यमा बेच्न सकिने अवस्था बनेको देखिन्छ।
यी हुन् नेपाल हाइड्रो डेभलपर र जीवन विकास लघुवित्त कम्पनी।
नेपाल हाइड्रोको कुरा गरौं।
यसले हालै ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश दिएको छ।
नेपाल हाइड्रोले लाभांश र साधारण सभा प्रयोजनका लागि पुस ७ गतेदेखि बुक क्लोज मिति तोकेको थियो।
पुस ६ गतेसम्म सेयर स्वामित्व हुनेले यसले दिने लाभांश पाएका हुन्। पुस ६ गते नेपाल हाइड्रोको सेयर ७२७ देखि ७७३ रूपैयाँसम्म कारोबार भयो।
पुस ७ गते यसको मूल्य समायोजन भएर ६८३ रूपैयाँमा कारोबार सुरू भयो। त्यसको केही दिनमै मूल्य बढेर ७९६ रूपैयाँसम्म पुग्यो।
यसले कात्तिक ३० मै लाभांश घोषणा गरेको थियो। त्यतिखेर यसको सेयर मूल्य ६७५ रूपैयाँसम्म कारोबार भएको थियो।
गत बिहीबार नेपाल हाइड्रोको सेयर ६९४ रूपैयाँसम्म पुगेको थियो। बजार बन्द हुँदा भने मूल्य ६६६ रूपैयाँ थियो।
यसरी हेर्दा बिहीबार सेयर बेच्दा पनि लगानीकर्तालाई ९ प्रतिशत बोनस सेयर चोखो नाफा हुने अवस्था बनेको छ। एक सय कित्ता सेयर हुनेले यसको ९ कित्ता सेयर पाउने छन्।
वास्तवमा कस्तो छ नेपाल हाइड्रोको वित्तीय अवस्था?
विगत पाँच वर्षको लाभांश हेर्दा नेपाल हाइड्रोले औसत ७.५३ प्रतिशत लाभांश दिएको छ। नेपाल हाइड्रोले सर्वसाधारणमा २०७४ सालमा सेयर जारी गरेको हो।
२०८१ फागुन १९ मा यसको सेयर मूल्य हालसम्मकै उच्च, १००२ रूपैयाँसम्म पुगेको थियो।
यसको ३.५२ मेगावाट क्षमताको चर्नावती जलविद्युत आयोजना सञ्चालनमा छ। त्यस्तै, शतप्रतिशत लगानीमा ६.८ मेगावाटको तल्लो चर्नावती आयोजना सञ्चालन गर्ने गरी काम अगाडि बढाएको छ।
हाल सर्वसाधारणमा नेपाल हाइड्रोको १३ लाख कित्ता सेयर स्वामित्व छ। यही कारण बजारमा यसको सेयर आपूर्ति कम छ र मूल्य उच्च छ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा विद्युत बिक्रीबाट हुने आम्दानी तीन करोड ६८ लाख ४४ हजार रूपैयाँ छ। २०८१/८२ को पहिलो त्रैमासमा यस्तो आम्दानी तीन करोड ६८ लाख ४५ हजार रूपैयाँ थियो।
यो अवधिमा नाफा रकम दुई करोड १७ लाख रूपैयाँबाट घटेर दुई करोड १६ लाख रूपैयाँ भएको छ।
प्रति सेयर आम्दानी २४ रूपैयाँ २६ पैसाबाट घटेर २२ रूपैयाँ ३३ पैसा पुगेको छ।
प्रति सेयर नेटवर्थ भने १२३ रूपैयाँबाट बढेर १२७ रूपैयाँ पुगेको छ। मूल्य घटिरहेको नेपाल हाइड्रोको सेयरले केही समयमा ६२८ रूपैयाँमा टेवा पाउन सक्छ। अहिले मूल्य बियरिस प्रवृत्तिमा छ।
त्यस्तै जीवन विकास लघुवित्तले मंसिर २६ गते १४.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो।
सेयर प्रति कित्ता १४६५ देखि १४९० रूपैयाँसम्म कारोबार भइरहेको थियो। गत पुस ७ गते जीवन लघुवित्तको सेयर मूल्य १३८५ रूपैयाँसम्म आइपुग्यो।
अहिले यसको मूल्य घट्दो क्रममा छ। तर पुस ७ गते सेयर किनेर पुस २२ गते यसको सेयर बिक्री गर्न सकेकालाई लाभांश सोझै फाइदा हुने अवस्था देखिएको छ।
पुस २२ गते यसको मूल्य १४५६ रूपैयाँसम्म पुगेको थियो।
यसले १४ प्रतिशत बोनस सेयर दिएको हो। एक सय कित्ता सेयर हुनेले बोनस बापत १४ कित्ता सेयर पाउँछन्।
पुस २१ मा समायोजनका कारण मूल्य घटेर १२९९ रूपैयाँ पुगेको थियो। अहिले १३४३ रूपैयाँमा कारोबार भइरहेको छ।
यसको मूल्य उच्च रहनुमा लाभांश दिएपछि पनि देखिएको क्षमता हो।
यसको आर्थिक वर्ष २०८१/८२ मा उच्च लाभांश क्षमता देखिएको थियो। जीवन विकास लघुवित्तले ६२.४० प्रतिशत लाभांश क्षमता देखाएको थियो। यसैमध्ये १४.७३ प्रतिशत लाभांश दिएको हो।
कम्पनीहरूलाई अहिले पनि राष्ट्र बैंकबाट लाभांश वितरणमा अप्रत्यक्ष सीमा कायम छ। राष्ट्र बैंकले पछिल्लो पटक अधिकतम २५ प्रतिशतसम्म लाभांश प्रस्ताव गर्न सक्ने व्यवस्था गरेको छ।
निष्क्रिय कर्जा अनुपात र लाभांश वितरणपछि कायम हुने पुँजी कोष अनुपातलाई समेत हेरेर २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सकिने सुविधा दिइएको छ।
यसै आधारमा कम्पनीहरूले लाभांश वितरण गर्दै आइरहेका छन्।
विगत पाँच वर्षको लाभांश इतिहास हेर्ने हो भने जीवन विकासको औसत २६.५७ प्रतिशत छ।
जीवन विकासले सर्वसाधारणमा २०७८ सालमा सेयर जारी गरेको हो। करिब पाँच वर्षअघि कारोबारमा आएको केही समयमै जीवन लघुवित्तको सेयर मूल्य ५५१६ रूपैयाँसम्म पुगेको थियो।
आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद ब्याज आम्दानी ४४ करोड रूपैयाँबाट बढेर ५५ करोड रूपैयाँ पुगेको छ।
यो अवधिमा नाफा रकम ९ करोड रूपैयाँबाट बढेर १४ करोड रूपैयाँ पुगेको छ।
प्रति सेयर आम्दानी २९ रूपैयाँ ५० पैसाबाट बढेर ३७ रूपैयाँ ९८ पैसा पुगेको छ।
प्रति सेयर नेटवर्थ २९३ रुपैयाँ छ।
मूल्य घटिरहेको जीवन विकासको सेयरले केही समयमा १३०६ रूपैयाँमा टेवा पाउन सक्छ।
अहिले यसको सेयर मूल्य बियरिस प्रवृत्तिमा छ। गत मंगलबार र बुधबार यसले हरामी बियरिस आकृति बनाएको छ।
यसमा पहिलो दिन ठूलो शरीर भएको सेतो मैनबत्ती आकृति बनेको हुन्छ भने दोस्रो दिन सानो कालो मैनबत्ती बनेको हुन्छ।
पहिलो दिनको मैनबत्तीको शरीरको आकारले दोस्रो दिनको मैनबत्तीको शरीर पूरै ढाकेको हुन्छ। यो मूल्य घट्ने संकेत हो। अन्तिम दिन बिहीबार यही संकेतअनुसार मूल्य घटेको छ।