एकाबिहानै फोनको घन्टी बज्यो। नयाँ नम्बर ९८१३....४६ बाट रहेछ।
फोन उठाएँ। 
'मै'साब, मैले मोबाइल लिएँ नि!' 
आवाज कताकता सुनेजस्तो लाग्यो। तर ठम्याउन सकिनँ। 
'तपाईं को बोल्नुभएको,' मैले सोधेँ। 
'अस्ति नै खाना खाने ठाउँमा भेटेको क्या त, चिन्नुभएन,' उनले उल्टै प्रश्न सोधेर भने, 'म विष्णुबहादुर क्या।'
उनी कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि दोस्रोपटक गरिएको लकडाउन समयमा मनकारीहरूले खाना बाँडिरहेको ठाउँमा भेटिएका विष्णुबहादुर श्रेष्ठ रहेछन्। 
विष्णुलाई मैले पहिलोपटक डल्लुस्थित पुलमा खाना पर्खिरहेको भिडभित्र भेटेकी थिएँ। अब त चिनिहालेँ।  
'कतै चामल सहयोग पाइन्छ भने मिलाइदिनुस् न मै'साब,' त्यो बेला उनले भावुक हुँदै भनेका थिए। 
'मलाई नम्बर दिइराख्नू, मपछि फोन गर्छु, अहिले त मसँग भएको यही कापी, कलम र क्यामरा मात्रै हो,' मैले उनलाई यसै भनेकी थिएँ।
मेरो कुरा सुनेर विष्णुको अनुहारमा अँध्यारो थपिएको थियो।
'तपाईंको त्यो कापीमा लेखेर नम्बर दिनुस् न। म मोबाइल भएपछि फोन गर्छु,' उनका ओठ र हात थरथर काँपिरहेका थिए। 

कागजको सानो टुक्रामा मैले उनलाई नम्बर लेखेर दिएकी थिएँ। 
अहिले यतिका समयपछि उनले मलाई फोन गरेका थिए। साथीले एउटा मोबाइल दिएका रहेछन्। त्यही मोबाइल पाएपछि उनले मलाई फोन गरेका रहेछन्। 
तर त्यो फोन उनले पहिले भनेजस्तै भोक टार्ने चामलका लागि थिएन। 
'लकडाउन त खुल्यो, त्यसपछि मेरो त आँखा बन्द भयो मै'साब। काम गरेर खानुपर्ने मान्छे मागेर खानुपरेको छ,' उनको कुराले झसंग बनायो।
के भयो आँखामा? 
'दाइने आँखामा मोतिबिन्दु र देब्रेमा जलबिन्दु भएको भनेको छ डाक्टरले। अपरेसन गर्न पाए त आँखा देख्थेँ कि! तर पैसा छैन,' एकै सासमा उनले सुनाए। 
कहाँ भेट्न सकिन्छ तपाईंलाई?
'अस्ति नै भेटेको पुलमा हुन्छु मै'साब।'
शनिबारको दिन थियो। उनी पुलछेउमा टुक्रुक्क बसिरहेका रहेछन्। हातमा डिटिसी कम्पनीको टुकटुक नम्बर थिच्नुपर्ने सानो मोबाइल।
'फोन कहिले बज्छ भनेर हेरिरहेको,' मलाई देखेर ओठमा मुस्कान थप्दै उनले भने।
नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरमा डाक्टरको 'प्रेस्क्रिप्सन' देखाउँदै उनले भने, 'हेर्नुस् त डाक्टरले यस्तो दिएको छ।'
६५ वर्षीय विष्णु यसअघि ठेलागाडामा राखेर सडकमा सोडापानी बेच्थे। त्यसबाट दिनमा चार सयदेखि पाँच सयसम्म कमाउँथे। त्यहीबाट उनको पेट पालिएको थियो। मीठो-मसिनो खान नपुगे पनि भोकै बस्नुपर्थेन। 
.JPG)
उनी डल्लूमा डेरा बस्थे। थोरै पैसा पनि बचाएका थिए त्यति बेला। तर जब कोभिड–१९ महामारी नियन्त्रणका लागि निषेधाज्ञा सुरू भयो, ठेलागाडाका चक्का रोकिए। काम ठप्प भयो। केही दिनमै बचाएको थोरै रकम पनि सकियो। रित्तिए विष्णु।
लकडाउन थपिँदै थियो। उनलाई एक छाक खानकै लागि सडकसम्म पुग्नुपर्यो। उनी कोही मनकारीले खाना दिन्छन् र आजको छाक टर्छ भनेर आश गर्नुपर्ने अवस्थामा पुगे।
'त्यो बेला त सोडापानी बेच्छु भनेर गाडा निकाल्यो कि प्रहरीले लखेटिहाल्ने। तर राख्न पाएकै भए पनि त्यस्तो बेला सोडापानी कसले खान्थ्यो र है,' उनले भने।
लकडाउन लम्बिँदा विष्णुको दैनिकी नै फेरियो। दिनभरि ठेलागाडा ठेलेर डेरा फर्किने उनी दिनभरी भातको पोको पर्खन थाले। 
डेराभाडा तिर्न नसकेपछि उनले छाडिदिए।
'पैंतालीस सय कोठाभाडा थियो। तिर्न सकिनँ। त्यसपछि त मेरो पाटीमा बास भयो,' उनले सुनाए। 
लामो समय उनी धौबिचौरस्थित एउटा घरको सत्तलमा बास बस्न थाले। त्यहाँ पनि चिनिराखेको भएर ओत लाग्ने ठाउँ पाएका रहेछन्।
भोक पनि चिनजानका साथीहरूसँग खानेकुरा मागेर मेटाउँथे। 
उनी कहिलेकाँही फुटपाथमा व्यापार गर्ने साथीहरूलाई सघाउँथे। सामान बोकिदिन्थे। दिनभरि पसलमा कुरेर व्यापार पनि गरिदिन्थे। 
व्यापारी साथीहरूले दया गरेर कहिलेकाहीँ खानेकुरा दिन्थे। व्यापार राम्रो भयो कसैले २०/३० रूपैयाँ पनि दिन्थे। त्यही पैसाले खानेकुरा किनेर उनले भोक टारे। तर साथीहरूले एकाध दिन दिएको सहयोगले कति धानिन्थ्यो! 
'कतिपटक बिस्कुटले भोक मेटेँ। कहिलेकाँही त भोकै बसियो,' यसो भन्दै गर्दा उनी मलीन देखिए।
उनको सकस सकिएकै थिएन। काठमाडौंमा दिनानुदिन जाडो बढ्दै जाँदा सत्तलमा रात कटाउन मुश्किल पर्न थाल्यो। 
त्यसपछि उनले भाँडा माझ्ने र सरसफाइ गरिदिने सर्तमा पाटनस्थित एक घरमा बास पाएका छन्। चार दिन भयो, उनले खान पनि त्यहीँ पाएका छन्।
.JPG)
ओत र भातले पेट शान्त भए पनि उनको कष्ट थामिएको छैन। आँखाले दुःख दिन थालेका छन्। दिनदिनै आँखा धमिलिँदै गएको छ। उपचार गर्ने पैसा छैन।
'उपचार गर्न सकिन्छ कि भनेर कवाडीको काम गर्ने एक जना साथीको साथ लिएर गाडा निकाल्न थालेको छु। साथीले गाडा ठेलिदिन्छ। म दिनभरी उभिन्छु। तर व्यापारै छैन,' उनले भने।
विष्णुलाई हातखुट्टा लागुन्जेल आफैं पाखुरी चलाएर खान मन छ। तर आँखाले राम्रोसँग देख्न छाडेपछि उनले सडकमा गाडा ठेल्न सकेका छैनन्। साथीको भरमा जसोतसो दिनभरी गाडा रुँघ्छन्। सामान साथीले नै ल्याइदिन्छन्। 
'आँखाले टाढाको केही देख्दैन। नजिकैको मधुरो देख्छु। कतै गाडीले हानेर मरियो भने के गर्नु। दुःख भए पनि बाँच्ने रहर छ। यो आँखाको उपचार भए त ८० वर्षसम्म गाडा ठेलेर खाने आँट छ,' उनले भने। 
विष्णुका काठमाडौं सहरमा कोही छैन भन्दा हुन्छ। एक्लै छन्। सात वर्षको उमेरमा काठमाडौं छिरेका उनले सुरूदेखि नै सोडापानी बेच्थे। त्यो पेसाबाहेक उनको मन अरू कतै गएन पनि। सोडापानी बेचेरै जीविका चलिरहेको थियो। 
धेरै वर्षअगाडि उनले बिहे गरेका थिए। तर सम्बन्ध लामो समयसम्म टिकेन। त्यसपछि एक्लै गुजारा गरिरहेको उनले बताए। 
उनको पुर्ख्यौली थलो काभ्रे हो। गाउँ फर्किन चाहे पनि उनको आफ्नै घरजग्गा छैन। भएको थोरै पुर्ख्यौली सम्पत्तिमा उनका दाइले गुजारा गरेका छन्।
सानैमा गाउँ छाडेकाले फर्किन पनि मन नलाग्ने उनी बताउँछन्।
'म त आमाबुबा बितेपछि गाउँ फर्किएको छैन। थुप्रै भयो नगएको। आफ्नो कोही छजस्तो पनि लाग्दैन,' विष्णुका आँखा टिलपिलाए। आँशुले भरिएपछि सायद उनले झनै मधुरो देख्न थाले।