कास्कीका दुई स्थानमा अति भारी वर्षा भएकाले उक्त क्षेत्रमा बिहान ९ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
महाशाखाका अनुसार कास्कीका लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको हो।
जुम्लेटीमा १३६.५ मिलिमिटर र लुम्लेमा १२२.४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।
यी दुई स्थानमा खतराको तह पार गरिसकेकोले सुरक्षित उपाय अपनाउन अनुरोध गरेको छ।
महाशाखाले आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ। कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजेसम्मै उच्च सतर्कता अपनाउन भनिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका पहाडी क्षेत्रका धेरै स्थानमा वर्षाको सम्भावना छ। मधेश र सुदूरपश्चिम बाहेकका प्रदेशका केही क्षेत्रमा भारी वर्षाको पनि आँकलन गरिएको छ।