नेपालकै अग्ला र लामा पुल तथा साहसिक पर्यटकीय पूर्वाधार रहेको पर्वतमा आव २०७८/७९ मा १४ वटा झोलुंगे पुल निर्माण भएका छन्। जिल्लाका विभिन्न पालिकामा रहेका साना तथा ठूला खोलामा ती पुल निर्माण गरिएका हुन्। झोलुङ्गे पुल निर्माण भएसँगै स्थानीयवासीको दैनिक जीवन सहज भएको छ।
पुलको व्यवस्थाले वर्षायाममा बढेका खोला वारपार गर्न जोखिम मोल्नुपर्ने अवस्था अन्त्य भएको छ।
पर्वतका चार पालिकामध्ये कुश्मा नगरपालिकाभित्र– तीन, मोदीमा दुई, महाशिलामा दुई, विहादीमा एक र पैँयू गाउँपालिकामा ६ वटा पुल निर्माण भएका हुन्। गत आर्थिक वर्षमा कुश्मामा निर्माण भएका पुलमध्ये वडानं–२ को खुर्कोटस्थित खहरे खोला झोलुंगे पुल, वडा नं ९ को कटुवाचौपारीमा चिन्नेखोला झोलुङगे पुल र वडा नं ३को दुर्लुङमा बडहरेघाट झोलुङ्गे पुल रहेका छन् ।
त्यसैगरी मोदी गाउँपालिका–१ भुकताङ्लेमा भुरुङदीखोला लाङ्घाली झोलुङ्गे पुल र वडा नं ७ मा जहरेखोला झोलुङ्गे पुल निर्माण भएका छन् । यसैगरी महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा थापाथर झोलुङ्गे पुल निर्माण भएको छ भने वडा नं ३ बालाकोटमा गङ्गाधर गुफा झोलुङ्गे पुल निर्माण भएको पुल निर्माणकर्ता खुर्कोट युवा क्लबले जनाएको छ।
यसैगरी विहादी गाउँपालिका–६ शालिग्राममा सेतीवेनी स्टिल ट्रस निर्माण गरिएको छ। यता पैन्यू गाउँपालिका–५ मा डुडेघाट झोलङ्गे पुल, वडा नं ५ मै काभ्रा भञ्ज्याङ स्टिल ट्रस, पैँयू वडा नं ४ हुवासमा चिसापनी स्टिल ट्रस, वडा नं ७ मा अर्थुन–बेउलीवास झोलुङ्गे पुल, वडा नं ६ मा कटुवाघाट झोलुङ्गे पुल निर्माण भएका छन्।
त्यसैगरी घाङ्गरे झोलङ्गे पुल निर्माणाधीन अवस्थामा रहेको क्लबले जनाएको छ । निर्माण भएका झोलुङ्गे पुलमध्ये आठ वटा इन्प्रेड नेपालको सहजीकरण र बाँकी खुर्कोट युवा क्लबको सहजीकरणमा निर्माण भएका हुन्। निर्माण भएका १४ वटा झोलुङ्गे पुल श्रमदानसहित ४ करोड ८१ लाख ८ हजार ३५५को लागनीमा सम्पन्न भएको उक्त क्लबका कार्यक्रम अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए।
उनका अनुसार उपभोक्ता समितिले नौ लाख ६२ हजार बराबरको श्रमदान गरेकामा उक्त क्लब र इन्प्रेड नेपालले सामाजिक तथा प्राविधिक सहयोग गरेका थिए। झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (एसडब्लुएपी) को ८५ प्रतिशत, सम्बन्धित स्थानीय तहको १३ प्रतिशत र दुई प्रतिशत श्रमदानमा पुल निर्माण भएको अधिकृत शर्माले बताए।
अनुदानका लागि सुरु गरिएका फार्म अलपत्र
पर्वतमा सरकारी अनुदान लिनका लागि खोलिएका कृषि तथा पशु फार्म धमाधन बन्द हुन थालेका छन्। केही वर्ष अघि व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) बाट एक करोड पचास लाख अनुदान पाएको महाशिला गाउँपालिकाको नमूना बाख्रा फार्म अनुदान पाएको एक वर्षपछि अलपत्र भयो।
महाशिला–१ होस्राङ्दीमा बाख्राको स्रोतकेन्द्रको रुपमा विकास गराउन भन्दै सञ्चालनमा आएको उक्त फार्म एक वर्षपछि अलपत्र परेको हो। विसं २०७४ मा आयोजनाबाट अनुदान उपलब्ध गराइएको फार्ममा अहिले झार र सिस्नोले भरिएको र भवन पनि खण्डहर बनेको छ। स्थानीयवासीका अनुसार फार्मका भवन बाहेक केही छैन।
दुई सय रोपनी क्षेत्रफलमा बाख्रापालनका लागि बनेका ६ वटा खोरमा अहिले बाख्रा छैनन्। पहुँचको भरमा ल्याइएको अनुदान दुरूपयोग भएको स्थानीयवासी भीमप्रसाद काफ्लेले बताए। दुई छाक खानका लागि जोहो गर्न खाडी जानुपर्ने बाध्यता रहेको गाउँपालिमा करोडौँ रुपियाँका फार्म अलपत्र पारिएको उनको गुनासो थिए। स्थानीयवासी काफ्लेका अनुसार बाख्रापालनका लागि भनेर संरचना बनाइए पनि बाख्रा देख्न पाइएन। अनुदान ल्याउन मात्रै बाख्रा देखाइएको तर हाल बाख्रा नै नरहेको स्थानीयवासी बताउँछन् । केही समय करिब ५० वटा बाख्रा राखिएको भए पनि अहिले ती बाख्रा बेचेर भवन मात्रै रहेको अर्का स्थानीयवासी कला भट्टराईले बताए।
स्थानीय २९ जनाको शेयर र प्याक्टको अनुदामा सुरु गरिएको सो परियोजना अलपत्र परे पनि कुनै निकायले अनुगमन नगरेको स्थानीयवासीको भनाइ थियो । होस्राङ्दी, उराम, भोक्सिङका किसानले साझेदारीमा सञ्चालन गरेको उक्त फार्म आर्थिक सङ्कटका कारण बन्द भएको महाशिला गाउँपालिकाका अध्यक्ष तथा फार्मका मुख्य सञ्चालक ईश्वरीप्रसाद भुसालले जानकारी दिए।
अनुदानसहित तीन करोडको लागत अनुमान गरिएकामा परियोजनाबाट प्राप्त अनुदानबाहेक सम्बद्ध व्यक्तिले लगानी नगरेपछि सरकारी अनुदान सदुपयोग नभएको उनले बताए। अध्यक्ष भुसालले भने, ‘एक करोड रूपियाँ पाउनुपर्नेमा ७० लाखले मात्रै काम गरियो, त्यसैले समस्या भयो।’
फर्ममा ५०० माउ बाख्रा पाल्नेगरी बनाइएको र घाँस सङ्कलन गर्नेदेखि पानी खुवाउनेसम्मका संरचना बनिसकेका थिए। अनुदान उपलब्ध गराउने समयमा भने फार्ममा बाख्रा रहेको भेटनरी अस्पताल एवं पशु विज्ञ केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख रामजी पौडेलले अनुदान उपलब्ध गराउँदा फर्ममा बाख्रा रहेको तर अहिले भने अनुगमन नभएको स्वीकारे। ‘अनुदान दिने बेला अनुगमन हुन्छ’ उनले भने, ‘पछि अनुगमनको कुनै कार्यक्रम नभएकाले गएका थिएनौ।’
यस्तै जिल्लाको कुश्मा नगरपालिका– २ को अर्मादीमा सञ्चालनमा आएको कुखुराको मासु प्रशोधन केन्द्र अहिले बिक्री भइसकेको छ । किसान लालबहादुर हरिजनले सञ्चालन गरेको नमूना व्यावसायिक कृषि फार्म अम्बोटमासमेत अनुदान आएपछि बिक्री गर्नुभएको बताइएको छ।
योसँगै ठूला अनुदान पाएका जिल्लाका अन्य ठाउँका फार्म पनि बन्द भएका छन् भने केही अनुदान पाएपछि बिक्री भएका छन् । उत्पादनभन्दा अनुदानमुखी कार्यक्रमले जिल्लाको बेरोजगारी कम गराउनाको सट्टा राज्यले करोडौँ लगानी गरेका फार्म अहिले खण्डहरमा परिणत हुँदैआएको किसानको गुनासो छ।