आइसिसी टी-२० विश्वकपमा आज नेपालले दोस्रो खेल खेल्दै छ। मुम्बईको वानखेडे रंगशालामा दिउँसो सवा ३ बजे नेपाल र इटालीबिचको खेल हुनेछ।
खेलमा इटालीले टस जितेर बलिङ रोजेको छ। ब्याटिङ गर्ने नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। इंल्यान्डविरूद्ध खेलेका स्पिनर शेर मल्लको स्थानमा ललित राजवंशी खेल्दैछन्।
नेपालको प्लेइङ ११
कुशल भुर्तेल
आसिफ शेख
रोहित पौडेल
दिपेन्द्रसिंह ऐरी
आरिफ शेख
लोकेश बम
गुलशन झा
करण केसी
नन्दन यादव
सन्दीप लामिछाने
ललित राजवंशी
इटालीको प्लेइङ ११
एन्थोनी मोस्का
जस्टिन मोस्का
जे जे स्मुट्स
ह्यारी मानेन्टी
बेन्जामिन मानेन्टी
मार्कस क्याम्पोपियानो
ग्रान्ट स्टुअर्ट
जियन-पिएरो मीड
जसप्रीत सिंह
क्रिशन कलुगामागे
अली हसन
यो खेल निर्णायक हुनेछ। दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएकाले सुपर-८ मा पुग्न यो खेल जित्नैपर्ने दबाबमा छन्। अर्को एउटा हारले विश्वकपको यात्रा लगभग समाप्त पार्न सक्ने भएकाले यो खेल दुवैका लागि 'गर या मर' को अवस्था छ।
मुम्बईको वानखेडे रंगशालामा नेपाल र इंग्ल्यान्डबीचको पहिलो खेल हाइस्कोरिङ रह्यो। नेपालले वानखेडेमा खेल खेलिसकेकाले यहाँको पिच र कन्डिसनको राम्रो अनुभव बटुलिसकेको छ। यसविषयमा कप्तान रोहितकुमार पौडेलले पनि नेपालका लागि मुम्बईमा खेल्नु फाइदा भएको बताएका थिए।
इटाली कोलकाताको इडेन गार्डेनबाट मुम्बई आएको छ। अझ इटालीले अभ्यास सत्र वानखेडेमा नभई डिवाइ पाटिल रंगशालामा गरेको छ।
नेपालका कप्तान रोहितले इटालीसँग खेल्न तयार भएको बताएका छन्। साथै इटाली राम्रो टोली भएको पनि रोहितको भनाइ छ।
‘हामीले विश्वकपको उपाधि दाबेदार टोलीमध्ये एकसँग जसरी खेल्यौँ, त्यसले इटालीविरुद्धको खेलका लागि मनोबल बढाएको छ। इटाली पनि एउटा राम्रो टोली हो, त्यसैले कुनै पनि टोलीलाई हल्का रूपमा लिनु हुँदैन। हामीले बनाएका योजनाहरू मैदानमा उतार्ने यो सही समय हो,’ उनले भने।
इटालीका प्रशिक्षक जोन डेभिसनले पनि नेपाल विरुद्धको खेल चुनौतीपूर्ण रहेको बताउँदै जितका लागि मैदान उत्रने बताएका छन्। कप्तान वेन म्याडसनले पनि नेपालविरुद्ध जितबाहेक अरू सोचेका छैनन्। यद्यपि उनले चोटका कारण नेपालविरुद्धको खेल खेल्ने छैनन्। यसको पुष्टि उनले आफैं गरेका छन्।
नेपालले इटालीसँग पहिलो पटक टी-२० खेलमा प्रतिस्पर्धा गर्न लागेको हो। इटाली एकदिवसीय टोली नभएकाले एकदिवसीय खेल हुने कुरा पनि भएन। तर पनि नेपालका लागि इटाली नयाँ प्रतिद्वन्द्वी भने होइन।
नेपाल र इटालीबीच ५० ओभरको खेलमा तीन पटक खेल भएको छ। सन् २००५ मा आइसिसी विश्वकप छनोट सिरिजअन्तर्गत मलेसियामा नेपाल र इटाली पहिलो पटक भिडेका थिए। ८८ रनले नेपाल विजयी भएको उक्त खेलमा शक्ति गौचनले पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने क्रममा नटआउट १०६ रन बनाएका थिए।
सन् २०१० मा आइसिसी विश्व क्रिकेट लिग डिभिजन-४ इटालीमै र सन् २०१३ मा डिभिजन-३ को खेलमा बर्मुडामा नेपालले इटालीसँग खेलेको थियो। यी खेलमा पनि नेपालले जित निकालेका थियो।
त्यसयता नेपाली टोलीको यात्रा निरन्तर अघि बढिरहँदा दुई टोलीको भेट भएको छैन। त्यसैले नेपाल र इटालीबीच अहिलेसम्म टी-२० खेल भएको छैन।
नेपाली टोलीले निरन्तर आफ्नो स्तर बढाइरहेको छ। सन् २०२४ विश्वकपदेखि नेपालले टी-२० फर्म्याटमा आफूलाई निकै बलियो बनाएको छ। सन् २०२५ को सेप्टेम्बरमा वेस्ट इन्डिजविरुद्धको सिरिज २-१ ले जित्नु यसको एउटा बलियो प्रमाण हो।
अर्कोतर्फ नेपालले विश्वकपमा आफ्नो खेल नजितेको १२ वर्ष भइसक्यो। सन् २०१४ विश्वकप खेल्दा नेपालले अफगानिस्तानलाई समूहको अन्तिम खेलमा ९ रनले हराएको थियो। त्यसयता नेपाल विश्वकपमा जितविहीन छ। सन् २०२४ को विश्वकपमा नेपालले तीन खेल खेल्दा तीनै खेलमा पराजय भोगेको थियो। एक खेल भने वर्षाका कारण रद्द भएको थियो। त्यसैले नेपालका लागि इटालीविरुद्ध १३ वर्षपछि प्रतिस्पर्धा गर्दा विश्वकपमा भने १२ वर्षपछि जितको स्वाद चाख्ने अवसर हुन सक्छ।
इटालीविरुद्ध नेपाली ब्याटिङको भर ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख छन्।
दुवै खेलाडी २०२५ मा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन्। मिडल अर्डरमा कप्तान रोहित पौडेलले टोलीलाई भर दिन इनिङ्स मजबुत बनाउने काम गर्छन्। नेपालको मुख्य हतियार भने दीपेन्द्रसिंह ऐरी हुन्। उनले अलराउन्ड प्रदर्शनमा टोलीलाई सधैं नै योगदान दिइरहेका हुन्छन्।
इंग्ल्यान्डविरुद्धको खेलमा अन्तिम ओभरमा चुकेका लोकेश बम यस पटक त्यो अधुरो काम पूरा गर्ने सोचमा हुनेछन्।
बलिङतर्फ सन्दीप लामिछानेको 'लेग स्पिन' र 'गुग्ली' विपक्षीका लागि सधैं टाउको दुखाइ बन्ने गरेको छ। उनलाई करण केसी र नन्दन यादवको तीव्र गतिले साथ दिनेछ। युवा बलर शेर मल्लले डेब्यूमै फिल साल्टलाई पहिलो बलमै आउट गरेर आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्।
नेपालको कमजोर पक्ष भनेको डेथ ओभर देखिएको छ। अन्त्यतिर नेपालले रन रोक्नका लागि ध्यान दिनुपर्ने देखिन्छ।
इटाली पहिलो पटक विश्वकप खेलिरहेको छ। पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको इटालीलाई नियमित कप्तानको साथ हुनेछैन। ४२ वर्षीय कप्तान वेन म्याडसनको काँधमा चोट लागेपछि उनले पहिलो खेल गुमाएका थिए।
कप्तानको अनुपस्थितिमा इटालीको जिम्मेवारी जेजे स्मट्स र ग्रान्ट स्टुअर्टको काँधमा आएको छ। मानेन्टी दाजुभाइ (बेन्जामिन र ह्यारी) र मुस्का दाजुभाइ (जस्टिन र एन्थोनी) ले टोलीलाई योगदान गर्न सक्छन्। इटाली राम्रो प्रदर्शन गर्दै विश्वकप यात्रा केवल एउटा संयोग मात्र थिएन भन्ने प्रमाणित गर्न चाहन्छ।
यो खेलमा अर्को संयोग मिठो हुनेवाला छ। एकै खेलमा तीन जोडी दाजुभाइ मैदान उत्रने सम्भावना छ। इटालीका मानेन्टी र मुस्का दाजुभाइसँगै नेपालका आरिफ र आसिफ शेख गरी एकै खेलमा तीन जोडी दाजुभाइले विश्वकप खेल्दा एक मिठो संयोगसँगै दुर्लभ कीर्तिमान पनि बन्नेछ।
तीनै दाजुभाइले पहिलो खेलसँगै खेलिसकेका छन्। इटालीले स्कटल्यान्ड र नेपालले इंग्ल्यान्डसँग खेल्दा यी दाजुभाइ मैदान उत्रिएका हुन्। नेपालले इंग्ल्यान्डविरुद्ध खेल्दा शेख दाजुभाइले विश्वकप खेल्ने पहिलो नेपाली दाजुभाइको कीर्तिमान समेत बनाएका छन्।