नेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्विक महत्वको काठको कलात्मक सालभञ्जिका टुँडाल र प्रस्तरबाट निर्मित दुई साधुका बीचमा उभिएको शिवको मूर्ति फिर्ता भएको छ ।
पुरातात्विक महत्वको टुँडाल काठमाडौं महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्व विभागले जनाएको छ।
यो १३ औं वा १४ औं शताब्दीमा निर्माण भएको टुँडाल हो। शिवको मूर्ति भने महानगरपालिका-१९ स्थित कंकेश्वरी मन्दिरबाट सन् १९९५ मा हराएको थियो। यो मूर्ति १० औं वा ११ औं शताब्दीमा बनेको अनुमान गरिएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए।
दुवै मूर्ति अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटान म्युजियम अफ आर्टमा उपहारका रूपमा पुगेको खुल्न आएको छ। उक्त सामग्री नेपालको भएको विभागको अनुसन्धानबाट पुष्टि भएको प्रमाण पेश गरेपछि सम्बन्धित संस्थाले आफ्नै खर्चमा नेपाल फिर्ता गरेको हो।
अमेरिका र बेलायतमा रहेका यस्तै अन्य मूर्ति पनि फिर्ताको प्रक्रियामा रहेको महानिर्देशक गौतमले बताए।
विभागले आइतबार एक कार्यक्रम आयोजना गरी मूर्ति सार्वजनिक गरेको हो।
म्युजियमका वरिष्ठ कला विशेषज्ञ जोन गाईले विभागका महानिर्देशकलाई दुवै सामग्री हस्तान्तरण गरेका थिए। यी सामग्री छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको छ।

