रोल्पामा पहिलो पटक स्नातकोत्तर कक्षा सञ्चालन हुने भएको छ। सदरमुकाम लिबाङमास्थित जलजला बहुमुखी क्याम्पसले त्यसका लागि अहिले भर्ना अभियान खोलिसकेको छ।
पहिलो पटक रोल्पामा स्नातकोत्तर तहको पढाइ हुन लागेको हो।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा रहेको जलजला क्याम्पसले चालु शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा शिक्षाशास्त्र संकाय अन्तर्गत ‘पाठ्यक्रम र मूल्यांकन’ विषयका कक्षाहरू सुरू गर्न अहिले विद्यार्थी भर्ना अभियान खुला गरेको क्याम्पस प्रमुख खेमबहादुर खड्काले बताए।
विद्यार्थी भर्नाका लागि माघ २१ गते प्रवेश परीक्षा सञ्चालन गरिएको थियो।
फागुन ३ गतेसम्म भर्ना समय तोकिएको र फागुन ५ देखि नियमित पठनपाठन सुरू गर्ने योजना रहेको क्याम्पस प्रमुख खड्काले जानकारी दिए।
क्याम्पसले यस पटक एउटा विषयको मात्र स्वीकृति पाएको छ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी २०६१ सालमा क्याम्पस स्थापना भएको थियो। ०७५ सालमा मध्यपश्चिम विश्व विद्यालय सुर्खेतको आंगिक क्याम्पसको स्वीकृति पाएको थियो।
क्याम्पसमा हाल स्नातक तह अन्तर्गत मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र पठनपाठन हुँदै आएको छ। हाल क्याम्पसमा ४ सय ८३ विद्यार्थी अध्ययनरत छन्।
यसअघि जिल्लामा स्नातकोत्तर तहको पढाइ नहुँदा विद्यार्थी दाङ, प्युठान, बुटवल, बाँके, काठमाडौं लगायतका स्थानमा जान बाध्य थिए।
जिल्लामै स्नातकोत्तरको पढाइ हुने निश्चित भएपछि रोल्पाका विद्यार्थी खुसी भएको क्याम्पस प्रमुख खड्काले बताए।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९, १२:००:३०