तपाईंहरू बसन्तपुर दरबार क्षेत्र जाँदा ढुंगा निकालेर अलपत्र छोडिएका दृश्य महिनौंदेखि देखिरहनुभएकै होला।
पैदलयात्रीहरू यसरी दरबार क्षेत्रमा काम अलपत्र छाड्दा विश्व सम्पदामा सूचीकृत बसन्तपुर दरबार क्षेत्रलाई कुरूप भएको बताउँछन्।
२५ वर्षीय पैदलयात्री सनिष खनाल पनि धेरै पर्यटक आउने स्थानमा काम नभइ सामान अलपत्र छाडेकोमा दुखेसो पोख्छन्।
'सयौंको संख्यामा आन्तरिक र विदेशी पर्यटक आउने ठाउँमा काम छिटो सक्नुको सट्टा अलपत्र छाडिएको छ,' उनले भने, 'काम कहिले सक्ने हो थाहा छैन। बाटोमा हिँड्न पनि गाह्रो छ।'
यसो त उनी दुई महिना अगाडि आउँदा पनि यस क्षेत्रमा काम भइरहेकै देखेको बताउँछन्।
'म दुई महिना आउँदा नि यहाँ काम यस्तै थियो,' उनले भने, 'अहिले नि त्यस्तै छ। यति जाबो ठाउँमा ढुंगा लगाउन पनि यत्तिका समय लाग्छ र!'
३२ वर्षीय व्यापारी प्रज्ञिज्ञ्य तण्डुकार राम्रो ढुंगा निकालेर झन् दरबार क्षेत्रलाई कुरूप बनाएको गुनासो गर्छन्।
'भएको राम्रो ढुंगा निकालेर हाम्रो करको रकम मात्रै दुरूपयोग भइराछ,' चाहिले ठाउँमा काम भएको छैन। भएको राम्रो ठाउँलाई पनि बिगारेर झन् लथालिङ्ग छाडिएको छ।'
यसो त उनी काठमाडौं महानगरले १०५ मिटर ढुंगा छाप्न पनि झन्डै एक वर्ष लगाइसकेको बताउँछन्।
'बालेनले काम छिटो गर्छ भनेको त त्यही ताल रहेछ। यति जाबो ठाउँमा ढुंगा छाप्न थालेको पनि एक वर्ष हुन लागिसक्यो त्यही पनि अहिलेसम्म सकेको छैन,' उनले भने।
यसबारे हामीले काठमाडौं महानगरका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका आर्किटेक्ट इन्जिनियर अमित बज्राचार्यलाई सोधेका छौं।
उनी बसन्तपुर दरबार क्षेत्रमा ढिलो काम भएको स्वीकार्छन्।
'काम ढिला पक्कै पनि भएको हो,' उनले भने, 'तर अहिले काम फेरि सुरू भइसकेको छ। पहिले विभिन्न कारणले गर्दा काम अड्किएको थियो।'
बज्राचार्यका अनुसार बसन्तरपुर दरबार क्षेत्रमा नै नयाँ चार इन्चको ढुंगा बिछ्याउने योजना थियो। जसका लागि १६ करोड रूपैयाँमा एक कम्पनीले ठेक्का पाएको छ। गत पुसदेखि काम सुरू गरेतापनि काम गर्दै जाँदा ढुंगाको अभाव भयो। त्यसपछि ढुंगा अभाव भएको देखेरै दरबार क्षेत्रको सबै दिशातिर ढुंगा बिछ्याउने योजना होल्ड गरिएको छ।
पूर्वमा जुद्ध शालिकदेखि कुमारी घर, उत्तरमा सानो पशुपतिनाथदेखि दक्षिणमा काष्ठ मण्डपसम्म ढुंगा छाप्ने महानगरको योजना थियो। तर अहिले होल्ड गरेर अब सिंह मूर्ति भएको ठाउँसम्म मात्रै ढुंगा छापिने भएको छ।
'छापिएको ढुंगाको ग्यापमा पहिले सिमेन्ट प्रयोग गरेका थियौं। सिमेन्टले राख्दा रिचार्ज हुँदैन भनेर स्थानीयहरूले विरोध गर्नुभयो। पछि त्यसलाई परिवर्तन गर्यौं,' उनले भने, 'तर पछिल्लो समय बजारमा ढुंगा अभाव हुँदा काम रोकिएको हो।'
अर्कातर्फ उनी महानगरले भएको राम्रो ढुंगा हटाएर बसन्तपुरमा पैसा खेर फालेको अस्वीकार गर्छन्।
'मान्छेले हेर्दा राम्रो ढुंगा देखिएला तर त्यो ढुंगा खिइसकेको छ,' उनले भने, 'अहिले हालेको उच्च गुणस्तरको ढुंगा हो जुन सिन्धुपाल्चोकबाट ल्याइन्छ।'
यस्तै अहिले २५/२६ वर्षपछि बसन्तपुर क्षेत्रमा ढुंगा छाप्ने काम भइरहेको उनले बताए। यसअघि केशव स्थापित मेयर हुँदा बसन्तपुर क्षेत्रमा ढुंगा छाप्ने काम भएको उनको भनाइ छ। स्थापित २०५४ सालमा काठमाडौं महानगरका मेयर थिए।
हेर्नुहोस् तस्बिरहरूः
-1764226414.jpg)
-1764226408.jpg)
-1764226403.jpg)
-1764226414.jpg)
-1764226396.jpg)
-1764226390.jpg)
-1764226392.jpg)
-1764226391.jpg)
-1764226396.jpg)
-1764226403.jpg)
-1764226399.jpg)
-1764226408.jpg)
-1764226399.jpg)
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी