बाँकेको कोहलपुर नगरपालिका–११ कृषि चोकमा आमासँगै भाडामा बस्ने ९ वर्षीय कुशल बुढाको हत्यामा संलग्न अभियुक्तहरू घटनास्थलमा फेला परेको एउटा कपडाबाट पहिचान गर्न सजिलो भएको प्रहरीले बताएको छ।
वैशाख ८ गते बेलुकादेखि बेपत्ता कुशलको शव वैशाख १५ गते बेलुकीपख गाडेको अवस्थामा उनी बस्ने ठाउँदेखि झन्डै १२ किलोमिटर टाढा बैजनाथ गाउँपालिका–४ नौलापुरस्थित कुलोमा गाडेको अवस्थामा फेला परेको थियो।
गोठालो गएका स्थानीयले गाडेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
हालसम्म कुशलको हत्याका प्रमुख योजनाकारसहित दुई जना फरार रहेको प्रहरीले बताएको छ।
कुशलको हत्या घटनामा प्रहरीले उनकी आमा र झड्केलो बुवासहित ९ जनालाई पक्राउ गरेको थियो।
कुशलको हत्याका मुख्य योजनाकारसहित अर्का एक व्यक्ति पनि फरार रहेको हुँदा प्रहरीले उनीहरू पक्राउ नपर्दासम्म कसैको पनि नाम सार्वजनिक नगर्ने बताउँदै आएको छ।
घटना अनुसन्धान गरिरहेकी इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालले कुशलको हत्यामा संलग्न व्यक्तिहरू बारेको महत्वपूर्ण सुराक घटनास्थलमा फेला परेको एउटा ज्याकेटबाट प्रहरीलाई मिलेको बताइन्।
‘बालकको हत्या गर्दा उसको ज्याकेटमा रगतका छिटाहरू लागेको देखिन्छ,’ उनले भनिन्, ‘त्यही रगतको दागहरू देखिने डरले उसले आफ्नो लुगा घटनास्थलमै फालेको भन्ने पक्राउ परेका अन्य व्यक्तिबाट खुलेको छ।’
पानी नभएको कुलोमा गाडेर थोरै परालले छोपेको अवस्थामा कुशलको शव फेला परेको थियो।
प्रहरीका अनुसार हत्याका मुख्य योजनाकार फरार अभियुक्त र कुशलकी आमा बीचमा धेरै सम्बन्ध तथा सम्पर्कहरू पाइएको थियो।
कुशलका घरका हजुरआमा बुवाले कुशलकी आमा र उनका हालका श्रीमानलाई प्रमुख दोषी मान्दै जाहेर मुद्दाका कारण प्रहरीले वैशाख १६ गते उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
त्यसपछि प्रहरीले उनीहरूले प्रयोग गर्ने मोबाइलको प्राविधिक जाँच गरेको थियो। त्यो जाँचमा कुशलकी आमाको एक व्यक्तिसँग लामो समयदेखिको निरन्तर सम्बन्ध खुलेको डिएसपी खनालले बताइन्। त्यसपछि प्रहरीले घटनास्थलबाट बरामद र कुशलको अनुहार छोपेको कपडा (विइन्डसिडर) कुशलकी आमालाई देखाएको थियो। उनले त्यो कपडा लगाउने ब्यक्तिको पहिचान गरेकी थिइन्। त्यसपछि प्रहरीले उनको खोजी थाल्दा मुख्य योजनाकार फरार भइसकेका थिए।
वैशाख ८ गते बेलुकी साढे ७ बजेतिर कुशल आफू बस्ने कोठादेखि नजिकै खाली चौरमा साइकल चलाइरहेका थिए। त्यही मौका छोपी चिनजाका ती फरार अभियुक्तले चकलेट दिएर घुम्न जाउँ अरू पनि चकलेट दिन्छु भन्दै कुशलको साइकल अटोमा राखेर उनलाई पनि अटोमा एकान्तस्थल पुर्याएका थिए।
कुशल हत्याका मुख्य योजनाकार मानिएका फरार ती युवक यशोदा बुढासँग विवाह गर्ने चाहन्थे।
यशोदा र ती पुरूषबीच प्रेम सम्बन्ध रहेको प्रहरीको भनाइ छ। तर पछिल्लो समय यशोदाले उनलाई बेवास्ता गर्न थालेकी थिइन्।
रिसाएका ती युवकले सुरूमा यशोदाकै हत्या योजना बनाएको प्रहरीसमक्ष बताएका छन्। पछि कुशललाई मारेर बदला लिन योजना बनाएको खुलेको प्रहरी बताउँछ।
कुशलको शव फेला नपरेको भए र प्रहरीले तत्काल सक्रियता नदेखाएको भए फेरि यशोदाको ज्यान पनि खतरामा थियो भन्ने तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ।
आमा माथिको पहिलो टार्गेट संभव नभएपछि बदला लिन दोस्रो योजना बुनेर कुशलको हत्या भएको प्रहरी बताउँछ।
योजना अनुसार कुशललाई चकलेट दिएर कोहलपुरदेखि मुख्य सडक खण्डको बाटो गएनन्। सडक र चोकका सिसी टिभीबाट जोगिन भित्रको घुमाउरो बाटो हुँदै ३ घन्टाको समय लगाएर रातिको समयमा बैजनाथ गाँउपालिका – ४ नौलापुर पुर्याउँछन्। त्यहाँ पुर्याइ अटोबाट ओर्लिएलगत्तै सुरूमै कुशलको टाउकोमा लाठीले प्रहार गरेपछि घाँटी रेटेर हत्या गरेको भन्ने बयान पक्राउ परेकाहरूले गरेको डिएसपी खनालले बताइन्।
छोरो हराएको भन्दै वैशाख ९ गते आमा यशोदा श्रीमान निरकका साथ इप्रका कोहलपुरमा पुगेर खोजीका लागि निवेदन दिएका थिए।
कैलालीको बर्दगोरिया गाउँपालिका–२ माइती भएकी यशोदाले विगतमा बाँकेको जानकी गाउँपालिका–३ का एक पुरूषसँग विवाह गरेकी थिइन्।
कुशल उनीबाटै जन्मिएका थिए। यशोदाका पहिलो श्रीमानले करिव ७ वर्षअघि आत्महत्या गरेका थिए। यशोदा पेसाले अस्पतालमा सरसफाइको काम गर्ने गर्थिन्। त्यसपछि उनले दैलेखको दुल्लु नगरपालिका–११ का निरक नाथसँग विवाह गरेकी थिइन्। निरक रोजगारीका लागि छिमेकी देश भारत आउजाउ गरिरहन्थे। यही क्रममा यशोदा र कुशलको हत्याका प्रमुख योजनाकार फरार अभियुक्तका बीचमा सम्बन्ध स्थापित भएको प्रहरी बताउँछ।
कुशलको हत्या गरी गाडेको अवस्थामा शव फेला परेपछि प्रहरीले यशोदा र निरकलाई घटनास्थल पुर्याएर पहिचान गराएको थियो। कपडाको आधारमा उनीहरूले नै कुशलको शवको पहिचान गरेका थिए।
डिएसपी खनालका अनुसार कुशलको हत्यामा संलग्न रहेका ७ जना आरोपित प्रहरी हिरासतमा छन्। उनीहरू सबै भारतीय नागरिक रहेको प्रहरीले बताएको छ।
वैशाखमै प्रहरीले कुशलको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिसकेको थियो। उनीहरूको बयानका आधारमा थप मानिस पक्राउ परेका थिए।
कुशलको हत्या घटनामा सुरूदेखि हालसम्मको अनुसन्धानबाट ३३ वर्षीय झड्केलो बुवा निकनाथ योगीको कुनै पनि संलग्नता नखुल्ने प्रहरी बताउँछ। कुशलको हत्या घटनामा आमा यशोदाको भूमिका पनि पछिल्लो अनुसन्धानले नखुलेको प्रहरी बताउँछ। तर, उनीहरू प्रहरी हिरासतमै छन्।
यो पनि:
९ वर्षीय बालकको हत्यामा नयाँ ट्विस्ट: अर्कै युवकको खोजीमा प्रहरी