ललितपुरमा चार दिनदेखि बेपत्ता रहेका पुरूष कारसहित मृत फेला परेका छन्।
ललितपुर महानगरपालिका-२५ भैसेपाटी बस्ने ४० वर्षीय निरिस काफ्ले मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।
उनी माघ २५ गते साँझ ललितपुर-१३ एकान्तकुनाबाट बिएसी ७०९९ नम्बरको कार लिएर बेपत्ता भएको भन्ने सूचना प्रहरीलाई आएको थियो।
काफ्ले हराएको हुँदा खोजी गरिदिन भनेर परिवारले परिसरमा निवेदन दिएका थिए।
शुक्रबार प्रहरीले उनी पुगेको सम्भावित क्षेत्रमा खोजी गर्न थालेको थियो। ड्रोनको समेत सहयोगमा बागमती गाउँपालिका-३ भट्टेडाँडा र माल्टा जाने बाटोको बीचमा रहेको यस्पा डाँडाको खोँचमा कार फेला परेको थियो।
एसपी मिश्रका अनुसार सडकबाट ३०० मिटर तल खोँचमा गाडी देखिएको थियो।
उक्त खबर पछि परिसरबाट डिएसपी द्वारिकाप्रसाद घिमिरेको कमाण्डमा ३१ जनाको टोली खटिएको थियो। विपद व्यवस्थापनबाट १६ जनाको टोली पनि परिचालन भएको थियो। शव पनि दुर्घटनास्थल नजिकै फेला परेको थियो।
शव र गाडी प्रहरीले घटनास्थलबाट निकालेर आवश्यक कारबाही अघि बढाएको छ।