राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदनको निर्णय तत्काल कार्यान्वयन गर्न जेनजी अभियानीहरूले आग्रह गरेका छन्।
आइतबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत जेनजी अभियानीहरूले प्रतिवेदनलाई कुनै राजनीतिक प्रभाव वा सत्ताको छायाँमा नपारी निष्पक्ष रूपमा कार्यान्वयन गर्न आग्रह गरेका हुन्।
राष्ट्रिय जेनजी नागरिक अभियानका अभियानी अजय सोडारीले आयोगले सार्वजनिक गरेको प्रतिवेदन पूर्ण नभए पनि घटनाका महत्त्वपूर्ण सत्य–तथ्य र यथार्थ पक्षलाई उजागर गरेको बताएका छन्।
'प्रतिवेदनमा उल्लेखित सिफारिसहरू जस्ताको तस्तै सरकारले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुपर्छ,' उनले भनेका छन्।
प्रतिवेदन सार्वजनिक गराउन उनी सडकदेखि आयोगसम्म निरन्तर लागि परेका थिए। प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै आयोग पुगेका बेला गिरफ्तार भई ८ घन्टासम्म हिरासतमा राखेको उनले बताए।
आयोगको प्रतिवेदनमा केही पक्षपातपूर्ण प्रवृत्ति देखिएको र सरकार पक्षसँग सम्बन्धित व्यक्तिहरूलाई जोगाउने प्रयास भएको आशंका उनको छ।
'यो प्रतिवेदन सरकार र सत्ताको प्रभावमा परेर केही व्यक्तिलाई बचाउने गरी आएकोमा हाम्रो गम्भीर प्रश्न छ,' उनले भने।
संवैधानिक निकायको प्रतिवेदन भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभाव पर्छ। त्यसले गर्दा पूर्ण स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयता कायम राख्नुपर्ने उनको भनाइ छ।