जेनजी आन्दोलनमा पक्राउ परेकाहरूलाई रिहाइको माग गर्दै सत्तारूढ रास्वपाको पार्टी कार्यालयमा अभिभावकहरू धर्ना बसेका छन्।
एक महिनासम्म माइतीघरमा प्रर्दशन गर्दा सरकारले माग सम्बोधन नगरेको भन्दै उनीहरू आइतबारदेखि पार्टी कार्यालयमा धर्ना बसेका हुन्।
पक्राउ परेकाहरूको अभिभावकहरू आफ्ना परिवारका सदस्यको रिहाइ माग गर्दै सडकमा उत्रिएको जेनजी अभियानी सरिस्मा थापाले जानकारी दिइन्।
'११ सय जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको थियो। ५१० जनालाई मुद्दा चलाइएको छ भनिएको छ। केहीलाई धरौटीमा छोडिएका छ,' उनले भनिन्, 'मुद्दा नचलाइएकाहरूलाई पनि अभद्ध व्यवहारको कसूरमा थुनामा राखिराखेको छ।'
पक्राउ परेकाहरू नछुटेको भन्दै जेनजी आन्दोलन थुनुवा पीडित अभिभावक समिति नेपाल धर्नामा बसेको थियो। तर सरकारले वास्ता नगरेको भन्दै रास्वपाको पार्टी कार्यलय पुग्नु परेको उनले बताइन्।
'हामीले सबैतिर पत्र बुझाइसकेका छौं। आन्दोलनमा गएकै कारण थुनामा राखिरहन पाइँदैन,' उनले भनिन्, 'कुनै कसुर नगरेकाहरूलाई पनि थुनामा राखेको छ।'