गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले अस्पताल परिसरको मूल गेटबाहिर महिलाले बच्चा जन्माएको घटनामा संलग्न भएको भन्दै ६ कर्मचारीलाई कामकाजबाट हटाएको छ।
अस्पतालले शुक्रबार जारी गरेको पत्रमार्फत डा. उषा देव, स्टाफ नर्स मनिषा कुमारी साह, स्टाफ नर्स सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई अर्को व्यवस्था नभएसम्मका लागि कामकाजबाट हटाएको हो।
भदौ २५ गते सामाजिक सञ्जालमा अस्पताल परिसरको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको भिडिओ सार्वजनिक भएपछि अस्पतालले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
उक्त घटनाको छानबिन गर्न अस्पतालले समिति गठन गरेको छ।
साथै घटनाबारे छानबिन गर्न अन्य समिति समेत गठन भएको अस्पतालले जनाएको छ।
छानबिन समितिहरूको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म र अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित ६ जनालाई कामकाजबाट हटाइएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रणजित कुमार झाले जारी गरेको पत्रमा उल्लेख छ।