अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबका बाबजुद युक्रेनले रुसका तेल प्रशोधन केन्द्रमाथि पुनः आक्रमण सुरू गरेको छ।
अमेरिकामा संसदीय निर्वाचन नजिकिँदै गर्दा ट्रम्प सरकारले रूसी ऊर्जा पूर्वाधारमाथिको आक्रमण रोक्न युक्रेनमाथि दबाब दिइरहेको थियो।
तर युक्रेनले त्यसलाई बेवास्ता गर्दै रूसी तेल प्रशोधन केन्द्रलाई निशाना बनाएको भनेर बेलायती पत्रिका द गार्डियनले लेखेको छ।
रूसी सरकारी सञ्चारमाध्यमका अनुसार आइतबार राति युक्रेनी लामो दूरीका ड्रोनले निझ्नी नोभगोरोद क्षेत्रको किस्तोभो तेल प्रशोधन केन्द्रमा आक्रमण गरेका थिए। आक्रमणपछि त्यहाँ आगलागी भएको थियो।
त्यसको केही समयअघि नै रुसको समारा क्षेत्रमा रहेको अर्को ठूलो तेल प्रशोधन केन्द्रमा पनि युक्रेनले आक्रमण गरेको थियो। उक्त केन्द्र रूसी सरकारी ऊर्जा कम्पनी रोजनेफ्टको स्वामित्वमा छ।
यसअघि 'द वाल स्ट्रिट जर्नल'ले ट्रम्पको दबाबपछि युक्रेनले रूसी ऊर्जा पूर्वाधारमाथिको आक्रमण रोक्न सहमति जनाएको समाचार प्रकाशित गरेको थियो।
तर युक्रेनी अधिकारीहरूले भने आफूहरूले ३० दिनसम्म तेल प्रशोधन केन्द्रमा आक्रमण रोक्ने सहमति नगरेको बताएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नरले यस्तो प्रस्ताव राखेको भए पनि युक्रेनले स्वीकार नगरेको अधिकारीहरूले 'किभ इन्डिपेन्डेन्ट'लाई बताएका छन्।
रूसी अधिकारीहरूका अनुसार युक्रेनले शुक्रबारदेखि पुनः आक्रमण सुरू गरेको हो। उनीहरूले युक्रेनले अमेरिकी आग्रहलाई पूर्ण रूपमा बेवास्ता गर्न थालेको आरोप लगाएका छन्।
ट्रम्पले यसअघि विश्व बजारमा इन्धनको मूल्य बढ्नुमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दोष दिएका थिए। गत महिना उनले रूसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध समेत हटाएका थिए।
यद्यपि पछिल्ला रूसी तेल प्रशोधन केन्द्रमाथिका आक्रमणबारे जेलेन्स्कीले सार्वजनिक रूपमा केही बताएका छैनन्। अमेरिकाको सम्भावित प्रतिक्रियाबाट बच्न उनले आक्रमणको जिम्मेवारी नलिएको विश्लेषण गरिएको छ।
बरु उनले रुसको रोस्तोभ क्षेत्रमा क्षेप्यास्त्र उत्पादन गर्ने एक रक्षा उद्योग केन्द्रमा युक्रेनी सेनाले आक्रमण गरेको बताएका छन्। उक्त कारबाहीमा रुसको पान्टसिर क्षेप्यास्त्र प्रणाली पनि ध्वस्त भएको उनको दाबी छ।
उनले यसलाई युक्रेनको निरन्तर जारी ‘लामो दूरीको प्रतिबन्ध’ अभियानको हिस्सा बताएका छन्।
रूसी आक्रमणबाट युक्रेनका लाखौं नागरिक प्रभावित
जेलेन्स्कीले रुसले युक्रेनका सहरमा रहेका ऊर्जा पूर्वाधारलाई लक्षित गरी ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट निरन्तर आक्रमण गरिरहेको भन्दै त्यसको जवाफ दिनु आफ्नो बाध्यता भएको बताएका छन्।
आइतबार राति रुसले युक्रेनका चार क्षेत्रमा आक्रमण गरेको थियो। त्यसका कारण लाखौं नागरिकका घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
जेलेन्स्कीका अनुसार रूसी आक्रमणको तीव्रता निकै उच्च छ। ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न प्रयोग हुने प्रतिरक्षा प्रणालीको अभावलाई रुसले अधिकतम उपयोग गर्न खोजिरहेको उनको भनाइ छ।
आइतबार राजधानी किभमा रहेको महत्वपूर्ण तापविद्युत् केन्द्रमा क्षति पुगेपछि कतिपय क्षेत्रमा आठदेखि १० घण्टासम्म विद्युत् आपूर्ति बन्द भएको थियो।
जेलेन्स्कीले अक्टोबर महिनामा रूसी सेनाले युद्ध सुरू भएयताकै सबैभन्दा ठूलो क्षति बेहोरेको दाबी गरेका छन्।
उनका अनुसार अक्टोबरमा ५४ हजार ४०० रूसी सैनिक मारिएका वा घाइते भएका छन्। यद्यपि यो दाबीको स्वतन्त्र पुष्टि भएको छैन।
उनले गत महिना युक्रेनी सेनाले ९६.२ वर्ग किलोमिटर भूभाग पुनः आफ्नो नियन्त्रणमा लिएको पनि बताए। यही अवधिमा रूसी सेनाले १०.४ वर्ग किलोमिटर मात्र भूभाग कब्जा गर्न सकेको उनको दाबी छ।
ओलेश्कीमा युद्धविराम सकियो, विस्थापित परिवारको पुनर्मिलन
यसैबीच, रुसको कब्जामा रहेको युक्रेनी सहर ओलेश्कीमा लागू गरिएको छ दिन लामो स्थानीय युद्धविराम आइतबार राति सकिएको छ।
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको पहलमा भएको मध्यस्थतापछि अक्टोबर २७ देखि नोभेम्बर १ सम्म युद्धविराम लागू गरिएको थियो।
युद्धविरामका क्रममा उत्तरी युक्रेनमा सयौं स्थानीय बासिन्दा आफ्ना परिवारसँग पुनर्मिलन भएका थिए। दुवै पक्षले उद्धार अभियानलाई सफल मान्दै मानवीय प्रयासको महत्वपूर्ण उपलब्धि बताएका छन्।
युक्रेनका मानव अधिकार सम्बन्धी लोकपाल दिमित्रो लुबिनेत्सले युद्धविराम समाप्त भएको पुष्टि गरेका छन्।
'अक्टोबर २७ देखि नोभेम्बर १ सम्म लागू भएको युद्धविराम समाप्त भएको छ,' उनले भने। उनले यसलाई संयुक्त मानवीय प्रयासको महत्वपूर्ण कदमसमेत बताएका छन्।
तर युक्रेनी पर्यवेक्षकहरूका अनुसार रुसले युद्धविरामको अवधिलाई सैन्य स्थिति बलियो बनाउन प्रयोग गरेको छ। ओलेश्कीमा तैनाथ थकित र भोकाएका सैनिकलाई हटाएर नयाँ सैनिक परिचालन गरिएको उनीहरूको दाबी छ।
ड्निप्रो नदीको पूर्वी किनारमा रहेको ओलेश्की सहर युक्रेनको खेरसन सहरको ठीक पारिपट्टि पर्छ। युक्रेनी सेनाले सन् २०२२ को शरद ऋतुमा खेरसनलाई रूसी नियन्त्रणबाट मुक्त गराएको थियो।
युद्धविराम सकिएसँगै उक्त क्षेत्रमा रुसले पुनः ठूलो सैन्य आक्रमण गर्न सक्ने आशंका गरिएको छ।
पुटिन जेलेन्स्कीसँग प्रत्यक्ष संवाद गर्न तयार
युक्रेन र रुसबीचको युद्ध अन्त्य गर्ने प्रयासमा कूटनीतिक पहल पनि जारी छ।
पोपले आइतबार ओलेश्कीमा युद्धविरामका लागि दुवै पक्षबीच भएको सहकार्यले व्यापक शान्ति प्रयासको बाटो खोल्ने आशा व्यक्त गरेका छन्।
आइतबारको प्रार्थनाका क्रममा उनले भने, 'यो आवश्यक मानवीय कदम सम्भव बनाउन दुवै पक्षबीच भएको सहकार्यले उनीहरूलाई संवादमा सहभागी हुन थप इच्छुक बनाउने आशा छ।'
यसै महिनाको अन्त्यतिर रुस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय वार्ता हुन सक्ने सम्भावना छ।
रूसी अधिकारीहरूले राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग टेलिफोन मार्फत प्रत्यक्ष संवाद गर्न तयार रहेको बताएका छन्। तर युक्रेनलाई समर्थन गर्ने युरोपेली नेताहरू यस्तो संवादमा सहभागी हुनु नहुने उनीहरूको भनाइ छ।
यद्यपि, युद्ध अन्त्यका लागि तत्काल कुनै ठोस सहमति हुने सम्भावना कम देखिएको छ।
पुटिनले युक्रेनको पूर्वी दोनेत्स्क क्षेत्रको सम्पूर्ण भूभाग रुसलाई सुम्पिनुपर्ने अडान राख्दै आएका छन्। सन् २०१४ देखि नै रुसले उक्त क्षेत्र पूर्ण रूपमा कब्जा गर्न सकेको छैन।
त्यसैगरी खेरसन र जापोरिजिया क्षेत्रका थप भूभाग पनि युक्रेनले छाड्नुपर्ने उनको माग छ। यी क्षेत्रलाई क्रेमलिनले रुसमा गाभिएको घोषणा गरे पनि ती सबै भूभाग अहिले रुसको नियन्त्रणमा छैनन्।
रुसका यस्ता अधिकतम मागमा कुनै परिवर्तन नआएकाले वार्ताबाट तत्काल युद्ध अन्त्य हुने सम्भावना कमजोर रहेको विश्लेषण गरिएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)