गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले प्रभावित क्षेत्रका स्थानीयको जनजीवन पछिल्लो १७ दिनदेखि अस्तव्यस्त छ।
कतिका सिंगो परिवार नै बेपत्ता छन्। जीवित नै भएका कतिपयले परिवारका सदस्य गुमाएका छन्।
परिवार सबै सकुशल रहेकाहरूको पनि जीवनभर कमाइ गरेर जोडेको घर, महत्वपूर्ण कागजात, बहुमूल्य धातु बाढीले आफूसँगै लगिदिएको छ। बाढीबाट घर, परिवार गुमाएकाहरू कोही आफन्तकहाँ शरण लिइरहेका छन्, कोही होल्डिङ सेन्टरमा छन्।
जीवित रहेकाहरू क्षतिग्रस्त घरमै हिलो, ढुंगा, गेग्य्रान पन्छाइरहेका भेटिन्छन्।
रसुवा, नुवाकोट, धादिङ हुँदै त्रिशूली नदीको तटीय क्षेत्रका बस्ती र त्यहाँका मानिस दीर्घकालसम्म असर गरिरहने विनाशकारी बाढीको पीडामा छन्।
तत्कालै सामान्य अवस्थामा फर्कन सक्ने वातावरण छैन । बाढीमा ठूलो मानवीय क्षति हुनुका साथै घर, बजार, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ ।
देवीघाट, ढुंगे र त्रिशूली बजारमा भग्नावशेष हटाउने काम
बाढीको सबैभन्दा धेरै असर परेकोमध्ये नुवाकोटको देवीघाट, ढुंगे बजार र त्रिशूली बजार अहिले पनि पुनःस्थापनाको पर्खाइमा छन्।
बाढीले घर, पसल, विद्यालय, सडक तथा पुलहरू बगाउनुका साथै कतिपय घर तथा संरचना लेदो र गेग्रानले पुरिएका छन्। त्रिशूली बजारमा मात्रै करिब ६० घर बगेका तथा दुईवटा पक्की पुलमा क्षति पुगेको विवरण छ।
बाढीपछि अहिले स्थानीय बासिन्दा आफ्ना पुरिएका घर तथा पसलको भग्नावशेष हटाउँदै बाँकी रहेका सामान निकाल्न थालेका छन्।
कोही घरभित्र पुरिएका लत्ताकपडा, भाँडाकुँडा र कागजात खोजिरहेका छन्। कोही पसल तथा गोदाममा बाँकी रहेका सामग्री निकालिरहेका छन्। वर्षौँदेखि बस्दै आएको घर र व्यवसायको अधिकांश हिस्सा बाढीले बगाए पनि स्थानीयहरू बाँकी सामान जोगाएर नयाँ जीवन सुरू गर्ने प्रयासमा देखिन्छन्।
देवीघाट र ढुंगे बजारमा डोजर, एक्स्काभेटर, ब्याकहोलोडर तथा टिपर प्रयोग गरी सडक र बजार क्षेत्रमा थुप्रिएको लेदो तथा गेग्रान हटाउने काम जारी छ। देवीघाटमा तीन एक्स्काभेटर, तीन ब्याकहोलोडर र तीनवटा टिपर तथा ढुंगे क्षेत्रमा तीन एक्स्काभेटर, दुई ब्याकहोलोडर र दुई टिपरबाट सफाइ भइरहेको छ।
देवीघाटको अस्थायी पुल सञ्चालनमा
बाढीले बगाएको नुवाकोटको देवीघाटस्थित तादी खोलाको पुलको स्थानमा नेपाली सेनाले एक्रो ब्रिज निर्माण गरी सञ्चालनमा ल्याएको छ। अस्थायी पुल निर्माण सम्पन्न भएपछि विदुर र बेलकोटगढी नगरपालिकाबीचको आवागमन सहज भएको छ।
यो पुल नुवाकोटलाई धादिङ हुँदै रसुवागढीसँग जोड्ने महत्वपूर्ण ‘लाइफलाइन’ भएकाले सञ्चालनमा आएपछि प्रभावित क्षेत्रमा राहत, उद्धार सामग्री तथा दैनिक उपभोग्य वस्तु पुर्याउनसमेत सहज हुने अपेक्षा गरिएको छ।
बाढीले तटीय क्षेत्रमा रहेका दर्जनौँ पुल बगाएपछि धेरै बस्ती सडक सञ्जालबाट विच्छेद भएका थिए। अहिले विभिन्न स्थानमा अस्थायी पुल, वैकल्पिक सडक तथा पैदल आवतजावतका संरचना निर्माण र मर्मतको काम अघि बढाइएको छ।
खोजी जारी, परिवारमा अझै आशा
बाढी आएको १७ बितिसक्दा पनि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेकाले आफन्तहरूमा चिन्ता र पीडा कायमै छ।
सुरक्षाकर्मी तथा प्राविधिक टोलीले नदी किनार, बाढीले पुरिएका संरचना, जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य सम्भावित स्थानमा खोजी गरिरहेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो उपलब्ध विवरणअनुसार १ हजार ३ सय ८५ शव फेला परेका छन्।
करिब ५ हजार १ सय ३० जना अझै सम्पर्कविहीन छन् । फेला परेका शवमध्ये अधिकांशको पहिचान हुन बाँकी छ। अहिलेसम्म १०४ शवको पहिचान गरी परिवारलाई बुझाइएको छ।
१३ हजार ६ सय ७६ जनाको उद्धार भइसकेको छ। बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोजीका लागि नेपाली सेनासँगै भारत, चीन, दक्षिण कोरिया, अष्ट्रेलिया, मलेसिया र संयुक्त अरब इमिरेट्सका उद्धार तथा प्राविधिक टोलीसमेत परिचालित छन्। अपर त्रिशूली–३ ए र अपर त्रिशूली–१ को सुरुङबाट तीन जना जीवितै उद्धार भएपछि अझै सुरुङभित्र खोजीलाई निरन्तरता दिइएको छ ।
सरकारले शव पहिचानका लागि डीएनए परीक्षण, अभिलेखीकरण र परिवारसँग समन्वयको कामसमेत अघि बढाएको छ। उद्धारपछि विस्थापितलाई अस्थायी आवास, खाद्यान्न, स्वास्थ्य सेवा तथा अन्य राहत उपलब्ध गराउने काम भइरहेको छ ।
भोटेकोशी–त्रिशूली बाढीले तत्कालीन उद्धार र राहतसँगै अब पुनर्निर्माण र पुनःस्थापनाको ठूलो चुनौती समेत खडा गरेको छ । बगरमा परिणत भएका बजार, पुरिएका घर, भत्किएका सडक र बगेका पुल पुनःनिर्माण गर्न दीर्घकालीन योजना आवश्यक देखिएको छ । स्थानीयहरू भने तत्काल सुरक्षित आवास, सडक तथा पुल सञ्चालन र घर–व्यवसाय पुनःस्थापनाका लागि सरकारी सहयोगको प्रतीक्षामा छन् ।
तस्बिरहरूः




















सबै तस्बिरः सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी।