गुल्मीमा मोटरसाइकलले पाँच जना पैदलयात्रीलाई ठक्कर दिएको छ।
मदाने गाउँपालिका-४ नातिनडाँडास्थित बाझकटेरीबाट पुर्कोट आउँदै गरेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ बाटोमा हिँडिरहेका ५ जनालाई ठक्कर दिएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मोटरसाइकल मदाने-४ धारापानीका अन्दाजी १७ वर्षीय खुमबहादुर सुनारले चलाएका थिए।
पैदलयात्रीलाई ठक्कर दिएपछि मोटरसाइकल अनियन्त्रित भएर चालक र मोटरसाइकलको पछाडि सवार धारापानीकै २० वर्षीय माधव सुनार पनि घाइते छन्।
मोटरसाइकलमा सवार दुवै जनाको स्थानीय मेडिकल पुर्कोटदहमा उपचार भइरहेको बताइएको छ।
पैदलयात्रीहरू मदाने-२ बाझकटेरी नेटाका ३५ वर्षीया कविता भुसाल, उनकी ९ वर्षीया छोरी अर्चना भुसाल, सोही स्थानका ४० वर्षीया कमला विक र १ वर्षीया सविना विक घाइते भएका थिए।
कमला र सविना उपचारपश्चात डिस्चार्ज भइसकेको छ। बाँकीको उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।