नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा गएको पहिरो पन्छाउने तथा सडक मर्मतको काम भइरहेका कारण दिनको समयमा सवारी आवागमन प्रभावित भएको छ।
पहिरो पन्छाउन सडक बन्द गरेर काम गर्न थालेको छ दिन भइसके पनि काम अझै पूरा भएको छैन।
बिहान साढे ८ बजेदेखि बेलुकी ६ बजेसम्म प्रत्येक दुई घण्टामा आधा घण्टाका लागि मात्रै सवारीसाधनलाई सडक पार गर्न दिइएको छ।
दुई घण्टा सडक बन्द गरेर पहिरो पन्छाउने काम गरिन्छ र त्यसपछि आधा घण्टाका लागि सडक खुलाइन्छ।
ड्युटीमा खटिएका प्रहरी अधिकारीका अनुसार यही प्रक्रियाबाट दिनभरि सवारी सञ्चालन र पहिरो पन्छाउने काम सँगसँगै भइरहेको छ।
मुग्लिनतर्फबाट आएका सवारीसाधनहरू इच्छाकामना गाउँपालिकाको शान्तिबजार क्षेत्रमा रोकिएका छन्। सडक खुल्ने समयको प्रतीक्षामा सवारीसाधनको लामो लाइन लाग्ने गरेको छ।
राति भने सडक निरन्तर सञ्चालनमा रहन्छ। प्रहरीका अनुसार बेलुकी ६ बजेदेखि बिहान ८ बजेसम्म सवारीसाधन चल्न दिइन्छ।
पहिरो पन्छाउने काम अझै कति दिनसम्म जारी रहने हो भन्ने यकिन भइसकेको छैन। मर्मतको काम पूरा हुन लाग्ने समयबारे पनि सम्बन्धित पक्षले स्पष्ट समयसीमा दिएको छैन।
यसको असर पोखरा र गण्डकी प्रदेशबाट काठमाडौं जाने यात्रुमा समेत परेको छ। कृष्णभीरमा पहिरो गएपछि पोखरा तथा गण्डकी प्रदेशबाट काठमाडौं जाने सवारीसाधनले नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै नारायणगढ, हेटौँडा र त्यसपछि काठमाडौं पुग्ने मार्ग प्रयोग गरिरहेका छन्।
वैकल्पिक तथा घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने अवस्थामा तुइनखोलाको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकमा समेत घण्टौँसम्म जाम हुने गरेको छ। सडकमा लामो समय रोकिनुपर्दा यात्रुले सास्ती खेप्नुपरेको छ।
पोखराबाट चितवन जाँदै गरेका हरि थापा पनि शान्तिबजार क्षेत्रमा रोकिएका छन्। सडक बन्द भएकाले सवारीसाधनको लामो लाइन लागेको उनले बताए।
‘सडक बन्द छ। दुई घण्टामा आधा घण्टाका लागि खुल्ने सूचना छ,’ उनले भने, ‘गाडीको लाइन निकै लामो भइसकेको छ।’
दिनको समयमा दुई घण्टामा आधा घण्टा मात्रै सडक खुल्ने भएकाले सवारीसाधनको चाप व्यवस्थापन गर्न पनि चुनौती देखिएको छ। पहिरो पन्छाउने काम पूरा नभएसम्म यात्रुले यही अवरोधका बीच यात्रा गर्नुपर्ने अवस्था छ।