सेभ द हर्टले नुवाकोटको बेलकोटगढीमा बाढी प्रभावितहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
दुई दिनसम्म सञ्चालित शिविरमा ५ सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए।
मिसन बाम्बिनी, टिपिओ नेपाललगायतका संस्थाहरूको सहकार्यमा स्वास्थ्य शिविर आयोजना गरिएको सेभ द हर्टका महासचिव शेरबहादुर रानाले बताए।
शिविरमा आएकाहरूलाई आवश्यकता अनुसार तीन महिनासम्मको औषधि नि:शुल्क उपलब्ध गराइएको उनले बताए।
बेलकोटगढीको पाँचखले र महादेवटारमा गरी १२ लाख रुपैयाँभन्दा बढी मूल्यको औषधि वितरण गरिएको आयोजकले जनाएको छ।
शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा. अनिल भट्टराई, डा. समीर यादव, डा. आनन्द उज्ज्वल सिंह, मानसिक रोग विशेषज्ञ डा. सुजिता खड्का र चिकित्सक डा. चन्दनकुमार साह उपस्थित थिए।
स्वास्थ्य परीक्षण गराएका व्यक्तिहरूमा प्रेसर, सुगर, हाडजोर्नी, थाइराइड, दम र मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढी देखिएको वरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डा. अनिल भट्टराईले जानकारी दिए।