पौडी खेल्न भन्दै कपिलवस्तुको बाणगङ्गा नदीमा गएका एक जना बालक बेपत्ता भएका छन्।
पौडी खेल्न गएको बेला अचानक नदीको बहाव बढेपछि टापुमा फसेका अर्का बालकको भने उद्धार भएको छ।
इलाका प्रहरी कार्यालय पिपराका अनुसार शनिबार दिउसो बाणगङ्गा नगरपालिका वडा नं. ८ का १६ वर्षीय रिदम लामा र १० वर्षीय बुद्ध लामा वडा नं. ४ स्थित मायादेवी रङ्गशालाको दक्षिणतर्फ बाणगंगा नदीमा पौडी खेल्न गएका थिए।
सोही बखत बाणगङ्गाको शिर अर्घाखाँचीमा बर्षा भएपछि नदीको बहाव बढ्दा उनीहरू नदीको बिचमा रहेको टापुमा फसेका थिए।
बालकहरू टापुमा फसेको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पिपराको टोली उद्धारको लागि पुगे पनि १० वर्षीय बालक बुद्ध लामा भने बाढीमा बेपत्ता भएका हुन्।
अर्का १६ वर्षीय रिदम लामालाई भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रहरीका अनुसार शनिवार साँझसम्म खोजी गर्दा पनि बेपत्ता भएका बुद्ध भने फेला पर्न सकेनन्। बाढी आएपछि टापुमा रहेको रुखमा चढेर ज्यान जोगाएका रिदमलाई भने साँझ ६ बजेतिर सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।