सिंगापुर र ओमान भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ।
नेपालका प्रमुख प्रशिक्षक उमेश पटवालले पारस खड्काको कप्तानीमा बिहीबार १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेका हुन्।
टिममा नियमित उपकप्तान ज्ञानेन्द्र मल्ल हुने छैनन्। उनले व्यक्तिगत कारणले सिंगापुर र ओमान भ्रमणबाट नाम फिर्ता लिएका थिए। यस्तै अनुभवी बलर बसन्त रेग्मी र ब्याट्सम्यान शरद भेषावकर पनि टिममा छैनन्। ज्ञानेन्द्रको अनुपस्थितिमा दीपेन्द्रसिंह ऐरीले उपकप्तानको भूमिका निर्वाह गर्ने छन्।
कुशल मल्ल र इशान पाण्डे पहिलोपटक टिममा परेका छन्। दुबै देब्रे हाते ब्याट्सम्यान हुन्।
आरिफ शेख, सुसान भारी र सन्दीप जोराले पुनरागमन गरेका छन्।
नेपाली टिमले पहिले सिंगापुर र त्यसपछि ओमान भ्रणम गर्दैछ। नेपाली टिम २५ सेप्टेम्बरमा सिंगापुर प्रस्थान गर्नेछ।
असोज दोस्रो साता सिंगापुरमा हुने त्रिकोणीय अन्तर्राष्ट्रिय टी-२० सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिता सिंगापुरले टी-२० विश्वकप छनोटको तयारीका लागि आयोजना गर्न लागेको हो।
नेपाल र जिम्बावे छनोटबाट बञ्चित भए पनि सिंगापुर भने विश्वकप छनोट खेल्दैछ।
नेपाल सिंगापुरमा प्रतिस्पर्धा गरेपछि उतैबाट ओमान जानेछ।
ओमान हुने प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगिता आइसिसी टी-२० विश्वकप छनोटको पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको हो।
विश्व छनोट प्रतियोगिता अक्टोबर ११ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ।
नेपाल भने गत महिना सिंगापुरमा भएको एसिया छनोटमै रोकिएको थियो। विश्व वरीयताको ११ औं स्थानमा रहेको नेपाललाई पछि पारेर सिंगापुरले एसियाबाट विश्व छनोटमा स्थान पक्का गरेको थियो।
नेपाली टिम
पारस खड्का, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, सन्दीप लामिछाने, सन्दीप जोरा, ललितनारायण राजवंशी, पवन सर्राफ, अभिनास बोहरा, कुशल मल्ल, आरिफ शेख, रोहितकुमार पौडेल, सुसन भारी, इशान पाण्डे।
सिंगापुरमा नेपालको खेल तालिका
असोज १० गते नेपाल भर्सेस जिम्बावे
असोज ११ नेपाल भर्सेस सिंगापुर
असोज १४ गते नेपाल भर्सेस जिम्बावे
असोज १५ गते नेपाल भर्सेस सिंगापुर
ओमानमा हुने प्रतियोगितामा नेपालको खेल तालिका
असोज १९ गते नेपाल भर्सेस हङकङ
असोज २० गते नेपाल भर्सेस नेदरल्यान्ड्स
असोज २२ गते नेपाल भर्सेस आयरल्यान्ड
असोज २३ गते नेपाल भर्सेस ओमान