कोरोनाभाइरसका कारण विश्वभर खेलकुद प्रतियोगितामा प्रभावित भइरहँदा चैत १ गतेदेखि काठमाडौंमा हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामाथि पनि प्रश्न उठेको छ।
कोरोनाभाइरसको जोखिमलाई लिएर सरकारले भेला हुने कार्यक्रम नगर्न आग्रह गरिरहेको छ। सरकार आफैंले सगरमाथा संवाद स्थगित गरिसकेको छ।
सरकारले देशभरका विद्यालयलाई चैत ५ गतेभित्र वार्षिक परीक्षा सक्न निर्देशन दिएको छ। यस्तै विद्यालयहरुलाई वार्षिक कार्यक्रम र भेला आयोजना नगर्न भनिएको छ।
क्रिस गेललगायतका चर्चित विदेशी खेलाडी कीर्तिपुर मैदानमा उपस्थित भएर खेल्दा इपिएलमा हजारौं दर्शक जम्मा हुने पक्का छ।
राष्ट्रिय खेलकुद परिषद्ले इपिएल रोक्ने कि सञ्चालन गर्ने विषयमा छिट्टै निर्णय गर्ने बताएको छ।
'यस विषयमा हामी गम्भीर छौं। सबै पक्षसँग छलफल गरेर प्रतियोगिताको विषयमा छिट्टै निर्णय लिन्छौं,' राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले सेतोपाटीसँग भने।
नेपाल क्रिकेट संघ (क्यान)ले सरकारले निर्णय गरेमा इपिएलले मान्नु पर्ने बताएको छ।
'अहिलेको अवस्थामा इपिएल आयोजना हुन्छ। तर सरकारले गर्ने निर्णय इपिएलले बेवास्ता गर्न सक्दैन,' क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने।
इपिएलले भने प्रतियोगिता आयोजना गर्न कुनै समस्या नहुने बताएको छ।
'इपिएल खेल्न आउने खेलाडी कोरोनाग्रसित देशबाट आउने छैनन्,' इपिएलको मिडिया हेरिरहेका सुरज गिरीले भने,'हाम्रा खेलाडी नै कोरोना संक्रमण बढिरहेको थाइल्यान्डमा खेलिरहेका छन्।'
कोरोनाको विषयमा इपिएल गम्भीर भएको बताउँदै गिरीले इपिएलका दौरान सचेतना फैलाउने बताए।
उनले नेपालमा अन्य खेलकुद प्रतियोगिता निरन्तर भइरहेको अवस्थामा इपिएललाई पनि कोरोनाले कुनै असर नगर्ने गिरीको दाबी छ।
तर सरकारले गर्ने निर्णय मान्न इपिएललाई कुनै आपत्ति नभएको उनको भनाइ छ।
इपिएलमा ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ। यसपटकको इपिएलमा वेस्ट इन्डिजका क्रिस गेल, ड्वायन स्मिथ, न्युजिल्यान्डका कोरि एन्डर्सन, श्रीलंकाका उपुल थाराङ्गा, अफगानिस्तानका मोहमद साहजाद, आयरल्यान्डका केभिन ओ'ब्रायन र पाउल स्टर्लिङ लगायतका खेलाडी नेपाल आउँदैछन्।
विश्वभर फैलिरहेको कोरोनाभाइरसका कारण खेलकुदका प्रतियोगितालाई असर गरिरहेको छ।
कतै खेलकुद प्रतियोगिता स्थगित भएका छन् भने कतै विनादर्शक खेल खेलाइएको छ। प्रत्यक्ष खेल हेर्नका लागि हजारौं दर्शक भेला हुने भएकाले खेलकुद प्रतियोगिता प्रभावित भएका छन्।