नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सन् २०२६ को आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। क्यानले सार्वजनिक गरेको क्यालेन्डरमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) र एसियन क्रिकेट काउन्सिल (एसिसी) बाहेक नेपालले खेल्ने अरु विपक्षी टोली भने पक्का छैन।
यो वर्ष क्यानले घरेलु क्रिकेटका महिलाको पनि लामो फर्स्याटको क्रिकेट प्रतियोगिताको प्रस्ताव गरेको छ। युवा प्रतियोगितालाई पनि क्यानले प्राथमिकतामा राखेको छ। लामो कार्यक्रम प्रस्तुत गरेको क्यानको मुख्य चुनौती कार्यान्वयन हुने पक्का छ।
• जनवरी: अन्तर्राष्ट्रियतर्फ आइसिसी वुमन्स टी-२० विश्वकप छनोट हुनेछ भने घरेलुतर्फ पुरुषको प्रधानमन्त्री कपअन्तर्गत जिल्ला र प्रदेशका खेल हुनेछन्।
• फेब्रुअरी: भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकपमा नेपालले खेल्दैछ। यस्तै वुमन्स प्रिमियर कप प्रस्ताव गरिएको छ। घरेलुतर्फ जय ट्रफी र राष्ट्रिय स्कुल च्याम्पियनसिप (जिल्ला)मा हुनेछन्।
• मार्च: आइसिसी विश्वकप लिग-२ मा नेपालले घरेलु मैदानमा ओमान र युएईसँग खेल्नेछ। महिलातर्फ भुटानमा यू-१९ टोलीले सिरिज खेल्नेछ। घरेलुतर्फ प्रधानमन्त्री कप (मार्च २८ देखि अप्रिल २२ सम्म), राष्ट्रिय स्कुल च्याम्पियनसिप (प्रदेश) र महिला प्रधानमन्त्री कपको जिल्ला छनोटक सञ्चालन हुनेछ।
• अप्रिल र मे: अप्रिलमा नेपाल ए सिरिज, महिला द्विपक्षीय शृङ्खलाहरू (कुवेत) र महिला यू-१९ सिरिज प्रस्तावित छन्। मे महिनामा आइसिसी विश्वकप लिग-२ घरेलु मैदानमा अमेरिका तथा स्कटल्यान्ड सिरिज (मे ५-१८) र यिनै टोलीसँग टी-२० सिरिज, नेपाल ए र महिला टोलीको सिरिज प्रस्ताव गरिएको छ। घरेलुतर्फ महिला प्रधानमन्त्री कप र यू-१९ राष्ट्रिय प्रतियोगिता, राष्ट्रिय स्कुल च्याम्पियनसिप र क्यान युथ कप आयोजना हुनेछ।
• जुन र जुलाई: जुनमा आइसिसी वुमन्स टी-२० विश्वकप छ भने पुरुषतर्फ टी-२० सिरिज प्रस्ताव गरिएको छ। यो बीचमा वुमन्स एसिया कप, यू-१९ महिला टोलीको मलेसिया भ्रमण, एसिसी मेन्स यू-१६ र आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्डमा नेपाल, नेदरल्यान्ड्स र नामिबियासँग सिरिज हुँदैछ। घरेलुतर्फ क्यान कोचिङ कोर्ष, पिच क्युरेटर कोर्ष र राष्ट्रिय टी-२० च्याम्पियनसिप गर्ने तय छ।
• अगस्ट र सेप्टेम्बर: गस्टमा एसिसी प्रिमियर कप, कुवेतसँग सिरिज (प्रस्तावित) र टप एन्ड सिरिज (अस्ट्रेलिया) प्रस्तावित छन्। महिलातर्फ युएईसँग सिरिज प्रस्ताव छ। घरेलुतर्फ अम्पायर कोर्ष र महिला यू-१९ तथा महिलाकै लामो फर्स्याटको क्रिकेट प्रतियोगिता गर्ने प्रस्ताव गरिएको छ।
• अक्टोबर र नोभेम्बर: यी दुई महिनामा नेपाल प्रिमियर को मुख्य आयोजना हुनेछ। साथै अक्टोबरमा आइसिसी विश्वकप लिग-२ मा नेपाल, ओमान र क्यानडाबीच खेल हुने (ओमान) पनि हुनेछ। घरेलुतर्फ महिलाको यू-१६ प्रतियोगितासहित स्कुल/कलेजको लामो फर्स्याटको क्रिकेट प्रतियोगिता प्रस्ताव गरिएको छ।
• डिसेम्बर: पुरुष र महिला दुवै टोलीका लागि अन्तर्राष्ट्रिय शृङ्खलाहरू हुने उल्लेख छ।
तालिकाका मुख्य विशेषताहरू
यस क्रिकेट क्यालेन्डरका मुख्य विशेषता:
• विविधता: यसमा पुरुष, महिला र युवा सबै वर्गका क्रिकेट प्रतियोगिताहरूलाई समावेश गरिएको छ।
• अन्तर्राष्ट्रिय एक्सपोजर: आइसिसी र एसिसीका प्रतियोगिताहरू बाहेक, नेपाल 'ए' को शृङ्खला, अस्ट्रेलियामा टप एन्ड सिरिज र भुटान तथा मलेसियामा युवा टोलीको भ्रमण जस्ता कार्यक्रमहरूले खेलाडीहरूलाई राम्रो अनुभव प्रदान गर्ने देखिन्छ।
• व्यवसायिक संरचना: नेपाल प्रिमियर लाई अक्टोबर-नोभेम्बरको विशेष विन्डो दिइएको छ।
• दक्षता वृद्धि: खेलहरूका साथसाथै अम्पायरिङ, कोचिङ र पिच क्युरेटर सम्बन्धी तालिमहरू पनि समावेश गरी क्रिकेटको समग्र इकोसिस्टमलाई सुधार गर्ने लक्ष्य राखिएको छ।
• लामो फर्म्याटमा जोड: पहिलो पटक महिलाका लागि लामो फर्म्याटको खेल र अन्तर विद्यालय/कलेज लामो फर्म्याटका प्रतियोगिताहरू प्रस्ताव गरिएको छ।

