बिग ब्यास लिग (बिबिएल) सिजन २०२०-२१ मा एक टिमले 'प्लेइङ-११' मा तीन जना विदेशी खेलाडी राख्न पाउने नियम लागू गरिने भएको छ।
अस्ट्रेलियाको टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता बिबिएलमा यसअघि प्लेइङ-११ मा दुई जना मात्र विदेशी खेलाडी राख्न पाइने नियम थियो।
यसअघि अस्ट्रेलियन क्रिकेटर्स एसोसिएसनले स्थानीय खेलाडीको स्थान विदेशी खेलाडीले लिने भन्दै विदेशी खेलाडीको कोटा नबढाउन लबिङ गर्दै आएको थियो। अब भने एसोसिएनसनले आगामी दुई सिजनका लागि विदेशी खेलाडीको एउटा कोटा बढाउनका लागि सहमति दिइएको छ।
अहिले एक टिमले एक सिजनका लागि १८ जना खेलाडीसँग सम्झौता गर्न पाउने नियम छ। जसमा ६ जना विदेशी खेलाडी राख्न पाइनेछ। ६ विदेशी खेलाडी आबद्ध गरे पनि टिमले एक खेलमा दुई जनालाई मात्र स्थान दिनु पर्थ्यो।
अहिले होबर्ट हुरिकेन्सले डविड मालन, सिड्नी थन्डरले एलेक्स हल्स, पर्थ स्कोचर्सले लियम लिभिङस्टोन, ब्रिसबेन हिटले टिम बनटन र सिड्नी सिक्सर्सले टम कुरानसँग सम्झौता गरिसकेका छन्।
सिजनका लागि क्रिकेट अस्ट्रेलियाले भारतीय खेलाडीसँग सम्झौता गर्नका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्डसँग कुराकानी गरिरहेको छ।
बिबिएलका पछिल्ला दुई सिजनमा नेपालका लेगस्पिनर सन्दीप लामिछानेले मेलवर्न स्टार्सबाट खेलका थिए।
यो सिजनका लागि भने सन्दीपले कुनै पनि टिमसँग सम्झौता गरेका छैनन्। अघिल्लो सिजन उनले स्टार्ससहित अन्य टिमसँग छलफल गरे पनि अन्त्यमा स्टार्ससँगै सम्झौता गरेका थिए।
सन्दीपले पछिल्ला दुई सिजनमा स्टार्सबाट २० खेल खेल्दा २६ विकेट लिएका थिए। उनको बिबिएलमा उत्कृष्ट प्रदर्शन ३ विकेट लिएर ११ रन दिनु हो।
सन्दीप बिबिएलमा उत्कृष्ट प्रदर्शन गर्ने विदेशी खेलाडीमा पर्छन्।
नयाँ नियम लागू भएपछि विदेशी खेलाडीलाई बिबिएलको प्लेइङ-११ पर्न सहज हुनेछ।