सन् २०२७ को जुनमा बंगलादेशमा एकदिवसीय एसिया कप आयोजना हुँदैछ।
एसिया कपमा टेस्ट टिमहरु अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका स्वत छनोट भएका थिए।
एसियाली क्रिकेट काउन्सिलले एसिसी प्रिमियर कपको विजेतालाई मात्र एकदिवसीय एसिया कपमा छनोट गर्ने नियम बनाएको थियो।
जसमा नेपाल सफल भएको छ। नेपालले शनिबार मलेसियामा युएईमाथि फाइनलमा ४४ रनको जित निकालेर एसिया कपमा स्थान पक्का गर्यो।
यससँगै अब नेपालले एसियाका टेस्ट राष्ट्रसँग एकदिवसीय एसिया कपमा प्रतिस्पर्धा गर्नेछ। यसअघि सन् २०२३ मा नेपालले टी-२० एसिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने मौका पाएको थियो।
एसिया कपमा छनोट भएसँगै नेपालका कप्तान सन्दीप लामिछानेले खुसी शब्दमा ब्यक्त गर्न नसकिने बताए।
प्रतियोगितामा १७ विकेट लिएर प्लेयर अफ दि सिरिजको ट्रफी समेत हात पारेका सन्दीपले खेलपछि भने, ‘उपाधि उचाल्नु र सबैलाई धेरै खुसी देख्न पाउनु विशेष क्षण हो। पछिल्लो समय नेपालमा कठिन परिस्थिति छ। सामना त्यसैले यो सफलता भावुक बनाएको छ । यो सफलता सबै नेपालीप्रति समर्पित गर्न चाहन्छु। शब्दमा बयान गर्न गाह्रो भइरहेको छ। यो त केवल सुरुवात हो। नेपाली क्रिकेटले विश्व क्रिकेटलाई अझ धेरै कुरा दिन बाँकी नै छ।’