नेपाल क्रिकेट संघ (क्यान) ले राखेको द्विपक्षीय क्रिकेट सिरिजको प्रस्तावप्रति बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सकारात्मक प्रतिक्रिया दिएको छ।
बंगलादेशले सन् २०२७ भित्र नेपालकै घरेलु मैदानमा आएर द्विपक्षीय सिरिज खेल्ने लक्ष्यका साथ काम अगाडि बढाएको छ।
बंगलादेश क्रिकेट बोर्डका क्रिकेट अपरेसन इन्चार्ज शहरियार नफिसका अनुसार नेपालले केही समयअघि नै द्विपक्षीय सिरिजका लागि औपचारिक प्रस्ताव पठाएको थियो।
बीसीबीले उक्त आमन्त्रणलाई निकै सकारात्मक रूपमा लिँदै दुवै बोर्डबीच प्रारम्भिक छलफल अगाडि बढाएको छ।
शहरियार नफिसले बंगलादेशको फ्युचर टुर्स प्रोग्राम (एफटीपी) निकै व्यस्त रहे तापनि सन् २०२७ सम्मको हालको साइकलभित्रै उपयुक्त समय मिलाउन प्रयास भइरहेको बताएका छन्।
‘नेपाल क्रिकेट संघ प्रस्ताव आएको छ र हामी यसलाई निकै सकारात्मक रूपमा हेरिरहेका छौँ। यदि सबै कुरा अनुकूल भएमा हालको साइकलभित्रै यो सिरिज गराउने हाम्रो उद्देश्य छ,’ बीसीबीका क्रिकेट अपरेसन इन्चार्ज शहरियार नफिसको भनाइ क्रिकेटको चर्चित वेव पोर्टल क्रिक बजले उल्लेख गरेको छ।
उनका अनुसार छलफल ठोस चरणमा पुगेपछि र शृङ्खला निश्चित भएपछि औपचारिक रूपमा जानकारी गराइनेछ।