सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले शीर्ष स्थानमा रहेर अग्रता लिने अवसर गुमाएको छ।
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पा क्लबसँग २–० ले पराजित भएपछि मच्छिन्द्रले त्रिभुवन आर्मी क्लबसँग ३ अंकको अग्रता लिने अवसर गुमाएको छ।
पराजयपछि अंक तालिकाको दोस्रो स्थानमा झरेको मच्छिन्द्रको ७ खेलबाट १३ अंक छ। शीर्ष स्थानमा उक्लिएको आर्मीको ६ खेलबाट १३ अंक छ। आर्मी गोलअन्तरमा अघि छ।
यता मच्छिन्द्रलाई पराजित गरेको शेर्पाले लिगमा पहिलो जित निकालेको छ। शेर्पा ७ खेलबाट ७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ। शेर्पा यसअघिका ६ मध्ये ४ खेलबाट बराबरीमा रोकिएको थियो।
शुक्रबार शेर्पाको जितमा मच्छिन्द्रका पिटर सेगुनले पहिलो मिनेटमै आत्मघाती गोलको उपहार दिएका थिए।
२० मिनेटमा विजय श्रेष्ठले अर्को गोल गरेपछि शेर्पाको अग्रता दोब्बर भएको थियो। निरज बस्नेतको फ्रिकिमा विजयले हेडमार्फत गोल गरे।