दश खेलाडीमा सीमित चेल्सीलाई पराजित गर्दै न्युकासल युनाइटेड इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ।
आइतबार साँझ भएको खेलमा न्युकासल २-० गोलले विजयी भएको हो। न्युकासलका लागि सान्द्रो टोनालीले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए।
चेल्सी ३५ मिनेटमा दश खेलाडीमा सीमित बनेको थियो। चेल्सीका निकोलास ज्याक्सनले सिधा रातो कार्ड पाएका थिए।
न्युकासलका डिफेन्डर बोटम्यानलाई फल गरेपछि ज्याक्सनले रातो कार्ड पाएका थिए।
रातो कार्ड पाएको चेल्सीविरूद्ध न्युकासलले अग्रता दोब्बर पार्न भने ९० मिनेटसम्म कुर्न पर्यो। उसका लागि ब्रुनो ग्युमारेजले ९० मिनेटमा दोस्रो गोल गरे।
जितसँगै न्युकासल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उसको ३६ खेलबाट ६६ अंक भएको छ।
६५ अंक भएको म्यानचेस्टर सिटी चौथो स्थानमा झरेको छ भने चेल्सी ६३ अंक जोडेर पाँचौ स्थानमा छ।