बेल्जियमका प्याट्रिक डे विल्डे नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएसँगै आफ्नो योजनाहरू सार्वजनिक गरेका छन्।
बिहीबार एन्फाले महिला टोलीको प्रशिक्षकको रुपमा सार्वजनिक गरेसँगै उनले शुक्रबार आफ्नो योजना सार्वजनिक गरेका हुन्।
यसअघिको नेपाल बसाइ राम्रो भएकाले नै उनलेनयाँ चुनौती स्वीकार गरेको बताएका छन्। उनले राष्ट्रिय टोलीको प्रशिक्षक हुनु ठूलो जिम्मेवारी र देशको प्रतिनिधित्व गर्ने सम्मानको कुरा भएको बताएका छन् ।
उनले यसअघि नेपालमा काम गरिसकेका छन्। उनी गत फागुनमा भएको तेस्रो नेपाल सुपर लिगमा काठमाडौं रेजर्सका प्रशिक्षक थिए।
विल्ड यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्]। उनले सोमालिया र रुवान्डाको मुख्य प्रशिक्षक तथा चीनको यू-२३ टिम र अल्जेरियाको सहायक प्रशिक्षक भएर काम गरिसकेका छन्।
विल्डेले आफू सधैं सकारात्मक पक्षबाट अगाडि बढ्ने प्रशिक्षक भएको बताएका छन्। उनले आफ्नो स्टाफ र व्यवस्थापनसँग पनि राम्रो सम्बन्ध बनाएर काम गर्ने र यो राम्रो भावना टिममा पनि जाने विश्वास व्यक्त गरेका छन्।
उनले नेपाली टोलीको विभिन्न कुरा परिवर्तन हुनेछन् भन्ने कुरामा जोड दिएका छन्। यी परिवर्तनहरूले छोटो र लामो समयमा सकारात्मक प्रभाव पार्ने आशा राखेका छन्।
खेल खेल्ने शैली, खेलाडीहरूको छनोट प्रक्रिया, र प्राविधिक स्टाफको संरचनामा पनि परिवर्तन आउने उनको भनाइ छ।
उनले आफ्नो नेतृत्वमा विजेता बन्ने टिम बनाउने र जित्न चाहने खेलाडीहरूको टिम बनाउने लक्ष्य लिएका छन्।
विल्डेले धेरै खेलहरू हेरेको र अन्डर-२० टोलीको क्याम्पमा पनि प्रतिभाहरू देखेको बताएका छन्। उनले खुला ढोकाको नीति अपनाउने र यू-२० बाट केही प्रतिभाशाली खेलाडीहरूलाई १८ जनाको सिनियर टोलीको क्याम्पमा बोलाउने बताए।
उनको मुख्य लक्ष्यहरूमध्ये एक धेरै नेपाली खेलाडीहरूलाई विदेशमा खेल्न प्रोत्साहन गर्नु रहेको छ। यसले राष्ट्रिय टोलीलाई उच्च स्तरमा पुर्याउने र स्थानीय खेलाडीहरूले पनि विदेशमा खेलेका खेलाडीहरूबाट सकारात्मक अनुभव सिक्न सक्ने बताएका छन्। उनले विदेशी स्काउटहरूको पनि सम्पर्कमा रहने र प्रतिभाहरूलाई थप आशा दिने बताएका छन्।
विल्डेले अहिलेको 'कम्फर्ट जोन' भन्दा बाहिर गएर काम गर्ने बताएका छन्।
नवनियुक्त प्रशिक्षकको रूपमा विल्डले एएफसी वुमन्स एसियन कप २०२६ को छनोटमा नेपाली टोलीको नेतृत्व गर्नेछन्। नेपाल समूह 'एफ' मा उज्वेकिस्तान, लाओस र श्रीलंकासँग छ।
सबै छनोट खेलहरू उज्वेकिस्तानमा जुन २९ बाट सुरु हुनेछन्। यो समूहको विजेता टोली अस्ट्रेलियामा हुने एसियन कपका लागि छनोट हुनेछ।
उनले अहिले आफ्नो मुख्य ध्यान दुई खेलका प्रतिद्वन्द्वी लाओस र श्रीलंकालाई हराउनु महत्त्वपूर्ण भएको बताए। उनले उज्वेकिस्तान जस्ता देशहरूको स्तरमा पुग्नु आफ्नो लागि ठूलो चुनौती भएको स्वीकार गरेका छन्।
राजेन्द्र तामाङ नेपाली राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षकको जिम्मेवारीमा रहने भएका छन्। एन्फाले यसअघि नै भगवती थापालाई सहायक प्रशिक्षकमा नियुक्त गरिसकेकाले अब महिला टोलीमा दुई सहायक प्रशिक्षक रहनेछन्।