अल्जेरियामा रंगशाला दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। एमसी अल्जरले लिग उपाधि जितेपछि अन्तिम सिट्ठी बज्नासाथ रंगशालामाको माथिल्लो स्ट्यान्डबाट खसेर तीन जनाको मृत्यु भएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार समर्थकहरू उत्सव मनाउन अगाडि बढ्दा सुरक्षा बार (बेरिकेड) भत्किएपछि उनीहरू तल्लो तलामा खसेका थिए। जसका कारण तीन जनाको मृत्यु हुँदा दर्जनौं व्यक्ति घाइते भएक छन्।
स्वास्थ्य मन्त्रालयले जनाएअनुसार ७० भन्दा बढी मानिसको तीनवटा अस्पतालमा उपचार गरिएको छ र तीमध्ये अधिकांशलाई डिस्चार्ज गरिसकिएको छ।
समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार,एमसी अल्जरका खेलाडी तथा कर्मचारीहरू घाइतेहरूलाई रक्तदान गर्न अस्पताल पुगेका छन्।
गत वर्षको लिग उपाधि जितेको एमसी अल्जरले आफ्नो उपाधि रक्षा गरेको खेल हेर्न स्टेडियम खचाखच भरिएको थियो।
खेलको दौरानमा फ्लेयर (एक प्रकारको आतिशबाजी) बाट निस्केको हरियो धुवाँले स्टेडियम ढाकेको थियो र माहोल उत्सवमय थियो।
उक्त दुःखद घटनापछि लिगको उपाधि (ट्रफी) हस्तान्तरण कार्यक्रम स्थगित गरिएको थियो।
एनसी माग्रविरुद्ध ०-० को बराबरी खेलेपछि एमसी अल्जरले लगातार दोस्रो वर्ष लिग उपाधि जितेको हो।