नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अर्को साता एएफसी महिला एसियन कपको छनोट खेल्दैछ। उज्वेकिस्तानमा हुने छनोटमा नेपालले घरेलु टोलीसँगै श्रीलंका र लाओस छन्।
चार टोलीबीचको यो समूह खेलमा शीर्ष स्थान हात पारे नेपाली महिला टोलीले इतिहास रच्ने छ। के यो इतिहास रच्न नेपाली टोली सक्षम छ त?
राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक प्याट्रिक डे विल्से सम्भावना त देख्छन् तर सहज नभएको बताउँछन्।
उनले एएफसी महिला एसियन कपमा नेपाल अहिले नै छनोट हुन्छ भनेर भन्न नसकिने समेत बताए।
प्रशिक्षक प्याट्रिकले समूहमा आफूभन्दा बलियो टोली रहेको र त्यससँगै आफ्नो धरातल पनि हेर्नेुपर्ने उल्लेख गर्दै अहिले नै छनोट हुन्छौं भनेर दाबी गर्न नसक्ने बताएका हुन्।
छनोट होस् भन्ने आफ्नो पनि सपना रहेको र त्यहाँको वातावरणका साथै बलियो प्रतिद्वन्दी रहेकाले अहिले नै यसै हुन्छ भन्न नसकिने उनको बुझाइ छ। यद्यपी आफू सकरात्मक नतिजाको आशामा पनि रहेको उनी बताउँछन्।
जित्नकै लागि आफ्नो टोलीले तयारी गरेको भए पनि सबैले सहजै जित्ने अनुमान गरेको उनले बताएका छन्। तर, त्यो सहज र सरल नरहेको उनी बताउँछन्।

नेपाल समूह ‘एफ’ मा छ। यस समूहमा पाँच पटक एसियन कप खेलिसकेको उज्वेकिस्तानजस्तो बलियो टोली छ। उज्वेकिस्तान फिफा वरीयतामा ५५औं स्थानमा छ भने नेपाल १०० औं स्थानको टोली हो।
आँकडा र उसको फुटबल धरातलमा उज्वेकिस्तान बलियो रहेकाले पनि यो छनोट जितेर एसिया कप खेल्छौं भन्ने नसकिने प्रशिक्षक विल्डेको भनाइ छ।
यद्यपी उनले आफ्नो लामो समय देखिएको प्रशिक्षण करियरअनुसार हेर्दा नेपाली महिला टोली साँच्चै नै बलियो रहेको उल्लेख गरे। साथै उनले हरेक खेलमा ध्यान दिएर जित निकाल्ने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन्। उनले अन्तिमसम्म लडेर भए पनि जित्ने कोशिस गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।
तर, छनोट हुन्छौं भनेर खेलाडीमा दबाब बनाउन नहुने उनको भनाइ छ। यो सफलता प्राप्त गर्न लामो समयदेखिको तयारी आवश्यक पर्ने उनी बताउँछन्।उनले पूर्ण टिमसहित आफूले तीन हप्ता प्रशिक्षण गरेको पनि उल्लेख गरेका छन्।
नेपालले जुन २९ मा पहिलो खेल लाओससँग खेल्ने । दोस्रो खेल जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा समूहचरणको अन्तिम खेल घरेलु टोली उज्वेकिस्तानसँग खेल्ने तालिका छ ।
नेपाली टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाले नयाँ प्रशिक्षकको आगामनपछि धेरै पक्षमा सुधार आएको आशा व्यक्त गरेकी छन्। अबको चार वर्षपछि के हुन्छ भन्ने नसकिने अहिलेका लागि यो अवसर खेर फाल्न नहुने उनी बताउँछिन्। साबित्रा भण्डारीमाथि सबैको भरोसा रहेको र उनी स्टार खेलाडी रहेको उल्लेख गर्दै कप्तान अञ्जिलाले जित निकाल्न एक टिम भएर खेल्दा मात्र सम्भव हुने बताएकी छन्।

फरर्वाड सावित्रा भण्डारीले यो छनोटका लागि आफूहरू सकारात्मक रहेको र यो विश्वकप जस्तै रहेको पनि बताइन्।
छनोटलाई लिएर सबै उत्साहित रहे पनि रहेको उनको भनाइ छ। महिला खेलाडीका लागि आवश्यक पर्ने प्रोत्साहन प्रशिक्षकबाट पाइरहेको र अहिले टोलीमा रहेका हरेक खेलाडी महत्वपूर्ण रहने गरी तयारी भइरहेको उनी बताउँछिन्। उनले एसियन कप क्वालिफायर आफ्नो र धेरै खेलाडीका लागि पहिलो अवसर रहेको बताइन्।
उज्वेकिस्तानसँग आफ्नो टोलीले अहिलेसम्म जित्न नसकेको र श्रीलंकालाई यसअघि आठ पल्ट हराए पनि हरेकपल्ट उसले दुःख दिने गरेको उनी बताउँछन्।
नेपाली टोलीको तीन गोलकिपरमा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर र उषा नाथ तथा डिफेन्डरमा गीता राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना र अमृता जैशी छन्।
टोलीको मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल तथा फरवार्डमा साबित्रा भण्डारी, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन्। नेपाली टोली मंगलबार राति एयर अरेबियाबाट उज्वेकिस्तान जाने कार्यक्रम छ।
-न्युज एजेन्सी नेपाल