अखिल नेपाल फुटबल संघ (एन्फा) ले आन्दोलनरत फुटबल खेलाडीलाई वार्तामा बोलाएको छ।
एन्फाले नेपाल फुटबल खेलाडी संघ र प्रतिनिधिलाई कात्तिक २४ गते वर्तामा बोलाएको हो।
एन्फाको भनाइ छ, ‘२०८२ कात्तिक १७ गते अखिल नेपाल फुटबल संघ (एन्फा) तथा एन्फ आबद्ध ए डिभिजन क्लबहरूबीच भएका सहमतिप्रति अगन्तुष्ट रहँदै नेपाल फुटबल खेलाडी संघको नेतृत्वमा भएको सडक प्रदर्शनप्रति संवेदनशिल रहँदै उक्त सडक प्रर्दशनमा व्यक्त सहिद स्मारक ए डिभिजन लिग तथा राष्ट्रिय लिगका सम्बन्धमा उठेका विचार एवम् भावनाहरूलाई सवाद्मार्फत नै सम्बोधन गर्ने मान्यता बमोजिम नेपाल फुटबन खेलाडी संघ तथा प्रतिनिधीलाई यहि मिति २०८२ कार्तिक २४ गते सोमबारका दिन बार्ताका मागि आव्हान गरिएको सम्बन्धित सबैमा सूचित गरिन्छ।’
यसअघि फुटबल खेल्न पाउनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका नेपाली राष्ट्रिय खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) को गेटमा बिहीबार आफ्नो पदक झुन्ड्याएका थिए। अनि ती पदकहरू त्यहीँ छाडेर उनीहरूले एक साताभित्र माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी दिएका थिए।
खेलाडीहरू फुटबल खेल्नबाट वञ्चित गर्न नहुने मागसहित बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुगेका थिए। उनीहरूले ‘ए’ डिभिजन लिगसहितका विभिन्न गतिविधि निरन्तर नहुँदा खेलाडीलाई गम्भीर असर परेको प्लेकार्ड बोकेका थिए। उनीहरूले ‘सेभ नेपाली फुटबल, लाज लाग्दैन एन्फा?, फुटबल भन्छौँ दिनरात–खेल नहुँदा पाक्दैन भात, जीवभर फुटबल सिक्ने–खेल्न नपाए कसरी टिक्ने?, मैदानभित्र र बाहिर फेयर प्ले, एन्फाको ध्यान भ्रमण र नोट–नखेली खेलाडीले पाउँदैनन् नोट’ लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए।
एन्फा कम्प्लेक्समा प्रवेश गर्न नपाएपछि उनीहरूले विरोधस्वरूप प्राप्त पदकहरू गेटमा झुन्ड्याएर एक सातासम्म माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी दिए।
एन्फा र १४ वटा शीर्ष डिभिजन क्लबबीच यसै साता भएको छलफलबाट यो वर्ष ‘ए’ डिभिजन लिग नगर्ने सहमति भएको थियो। अहिले राष्ट्रिय लिग मात्र गर्ने र ‘ए’ डिभिजन लिग अर्को वर्ष मात्र हुने निर्णय भएपछि हाल राष्ट्रिय टोलीमा रहेका खेलाडी समेत विरोधमा छन्।
एन्फा र क्लबहरूको बैठकबाट यो वर्ष शीर्ष डिभिजनको सट्टा राष्ट्रिय लिग मात्र गर्ने सहमति जुटेको थियो। त्यसैको विरोधमा खेलाडीहरू सडकमा उत्रिएका हुन्। पछिल्लो पटक २०७९ सालमा मात्र शीर्ष डिभिजन लिग भएको थियो। एन्फाभित्रको आन्तरिक राजनीतिका कारण त्यसयता लिग हुन सकेको छैन।