नेपाली फुटबलको शीर्ष डिभिजनको शहीद स्मारक 'ए' डिभिजन लिग एक सय २० दिनभित्र आयोजना गर्न सरोकारवालाहरू तयार भएका छन्।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा अखिल नेपाल फुटबल संघ (एन्फा), शीर्ष डिभिजनका १४ मध्ये पाँच वटा क्लब र फुटबल खेलाडीहरूबीच भएको छलफलबाट अबको एक सय २० दिनभित्र 'ए' डिभिजन लिग गर्ने सहमति भएको हो।
गत कात्तिक १७ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न बैठकबाट एन्फा र क्लबहरूले आगामी पुस ९ गतेबाट राष्ट्रिय लिग गर्ने र अर्को वर्षको पुस ३ गते शहीद स्मारक 'ए' डिभिजन लिग आयोजना गर्ने सहमति गरेका थिए।
यस वर्ष पनि लिग नहुने भएपछि गत बिहीबार एन्फामा फुटबल खेलाडीहरूले आन्दोलन गरेका थिए।
यसपछि नै एन्फाले सोमबार आफ्नै कम्प्लेक्समा खेलाडीहरूलाई बैठकमा बोलाएको थियो। तर उनीहरूले उक्त बैठक लाइभ गर्न माग गरेपछि सम्भव नभएकोले मङ्गलबारका लागि सिंहदरबारमा बैठक तय भएको हो।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सिंहदरबारमा मङ्गलबार बोलाएको बैठकमा १४ मध्ये तीन विभागीयसहित पाँच क्लब मात्र सहभागी भए।
सरोकार पक्षका क्लबहरू पूर्ण नभए पनि एन्फाले क्लबहरू खेल्न तयार भएमा लिग आयोजना गर्ने बताएको छ।
एन्फाका सहायक महासचिव बद्री भट्टराईले खेलाडीहरूबाट पुसभित्र नै लिग गर्ने माग भए पनि अन्ततः एक सय २० दिनपछि नै लिग गर्ने सहमति भएको बताएका छन्।
लिग गर्न क्लबहरूलाई पनि समय आवश्यक पर्ने कुरामा छलफल भएपछि त्यो समयावधिभित्र सहमति निस्किएको उनको भनाइ छ।
क्लबहरू खेल्न तयार हुँदा एन्फा लिग गर्न तयार नै रहेको सहायक महासचिव भट्टराईले बताएका छन्। तर यो बैठकमा १४ क्लबमध्ये पाँच वटा मात्र सहभागी रहेको उनले उल्लेख गरेका छन्।
बाँकी क्लबहरूसँग पनि मन्त्रालयले छलफल अगाडि बढाउने कुरा आएको एन्फाका सहायक महासचिव भट्टराईले उल्लेख गरेका छन्।
आवश्यक परेको ठाउँमा मन्त्रालयले सहजीकरण गर्ने प्रतिवद्धता आउनु सुखद पक्ष रहेको बताएका छन् । लिग हुँदा दशरथ रङ्गशालामा बिग्रिएको खण्डमा त्यसमा मन्त्रालयले पनि सहयोग गर्ने कुरा आएको उनले उल्लेख गरेका छन्।
समस्या भएको ठाउँमा मन्त्रालयलाई भन्न र समस्या नहुँदा लिग आयोजना गर्न एन्फालाई निर्देशन प्राप्त भएको एन्फाका सहायक महासचिव भट्टराईले जानकारी दिएका छन्।
भोलि वा पर्सिभित्र बाँकी क्लबहरूलाई पनि छलफलमा राखेर लिगको विषयमा टुङ्गो लगाउन मन्त्रालयले तयारी गरिरहेको उनले उल्लेख गरेका छन्।
भट्टराईले एन्फा बजेट नभएर लिग गर्न-गराउनबाट पछि हटेको भन्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।
सरोकारवाला पक्ष सबै एकजुट भएर अगाडि बढ्दा लिग सम्भव रहेको उनले बताएका छन्।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मङ्गलबार बोलाएको सरोकारवालाहरूसँगको छलफलमा एन्फा पदाधिकारी र शीर्ष डिभिजन क्लबहरूबीच अबको चार महिनाभित्र लिग गर्ने सहमति भएको छ।
मन्त्री गुप्ताले एन्फालाई लिगको मिति प्रस्ताव गर्न आग्रह गरेका थिए । लामो छलफलपछि एक सय २० दिनभित्र लिग आयोजना गर्ने सहमति भनिए पनि १४ वटै क्लबको सहमति नभएकाले अझै अन्योलता छ। यद्यपि, मन्त्री गुप्ताले बाँकी क्लबहरूसँग पनि छलफल गर्ने र उनीहरूलाई मनाउने बताएका छन्। केही क्लबहरू भने त्यो मन्त्रालयको क्षेत्राधिकारभित्र नपर्ने र क्लब स्वतन्त्र रहेको भन्दै सिंहदरबारको बैठकमा सहभागी भएका छैनन्।
—न्युज एजेन्सी नेपाल