पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले २०२६ को फिफा विश्वकप फुटबल प्रतियोगिता आफ्नो अन्तिम विश्वकप हुने पुष्टि गरेका छन्।
विभिन्न क्लब र देशका लागि गरी कुल ९५३ गोल गरिसकेका ४० वर्षीय रोनाल्डोले ‘एक वा दुई वर्षभित्र’ फुटबलबाट सन्यास लिने पनि बताएका छन्।
आगामी वर्ष क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा हुने विश्वकप रोनाल्डोको छैटौं विश्वकप हुनेछ।
साउदी अरेबियाको रियादमा भएको टुरिज समिटमा एक अन्तर्वार्ताका क्रममा २०२६ को विश्वकप उनको अन्तिम विश्वकप हुने हो भनी सोध्दा रोनाल्डोले भने, ‘निश्चित रूपमा हो। म ४१ वर्षको हुनेछु र मलाई लाग्छ यो ठूलो प्रतियोगितामा मेरो अन्तिम हुनेछ।’
साउदी अरेबियाको अल-नासरबाट क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डो १४३ गोलसहित पुरुष अन्तर्राष्ट्रिय गोलकर्ताको सूचीमा अग्रस्थानमा छन्।
उनी आफ्नो १००० करिअर गोलको कोसेढुङ्गा पछ्याइरहेका छन्।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब युभेन्टसका पूर्व खेलाडीले गत साता आफूले ‘चाँडै’ सन्यास लिने बताएका थिए। तर मंगलबार उनले सन्यास सम्भवतः अर्को केही वर्षभित्रै हुने पुष्टि गरे।
‘इमानदार बनौं, चाँडै भन्छु, यसको मतलब म सम्भवतः एक वा दुई वर्षसम्म खेलमा रहनेछु,’ उनले भने।
रोनाल्डोले पोर्चुगललाई युरो २०१६ को उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। पाँच पटकका बालोन डी'ओर विजेता रोनाल्डोले जित्न नसकेको मुख्य ट्रफी विश्वकप हो।
पोर्चुगल अर्को वर्ष हुने विश्वकप प्रतियोगिताका लागि अझै छनोट भएको छैन। तर बिहीबार आयरल्याण्ड गणतन्त्रलाई हराएमा आफ्नो स्थान सुरक्षित गर्न सक्नेछ।