एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत बुधवार भएको खेलमा नव जनजागृति युवा क्लबले टाइगर्स क्लबलाई ५–० ले हराएको छ।
विजयी टोलीका विजय उरन्व, प्रताप सिंह राई, सुजन डङ्गोल, प्रताप सिंह राई र पूजन थापाले गोल गरे । प्रताप सिंह प्लेयर अफ द म्याच समेत घोषित भए ।
अर्को खेलमा गाईघाट फुटबल क्लब र हैरान्स क्लबको बिचमा २–२ गोलको बराबरी भयो । सो खेलको पहिलो हाफमा सुदिप श्रेष्ठ र विश्व उदासको गोलमा गाईघाटले अग्रता लिएको थियो । दोस्रो हाफमा हैरान्सका अनीश महर्जनले दुवै गोल गरे । उनी प्लेयर अफ द म्याच घोषित भए ।
२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ । सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोर्ट्स क्लब, हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब छन् ।
लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन् । सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन् । राष्ट्रिय लिग पुस महिनामा हुने छ ।