एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तर्गत बिहीबार भएको खेलमा नव जनजागृति युवा क्लबले हैरान्स क्लबलाई ७–२ ले हराएको छ।
सो जितसँगै नव जनजागृति समूह ‘ए’मा पहिलो स्थान पाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । सो समूहमा काँक्रेविहार १० अङ्क सहित दोस्रो भयो। काक्रेबिहारले गाईघाट फुटबल क्लबलाई ५–३ ले हरायो।
अब सेमिफाइनलमा नव जनजागृतिले चित्लाङ एफसी तथा काक्रेबिहारले लालीगुराँस एसोसिएसन क्लबसँग खेल्ने छन्। सेमिफाइनल पुगेका नव जनजागृति, चित्लाङ, काँक्रेविहा र लालीगुराँस गरी चार टोली राष्ट्रिय लिगमा पुगेका छन्।
शुक्रबार भएको खेलमा नव जनजागृतिलाई फराकिलो जित दिलाउने क्रममा सुजन डङ्गोलले ३ गोल गरे । प्रताप सिंह राई,अविनाश स्याङतान र कृपाकान्त महतो थारुले थप गोल गरे । सुजन सो खेलको प्लेयर अफ द म्याच घोषित भए । हैरान्सका विजय दोङ र सामुयल सुनारले गोल गरे।
अर्को खेलमा काक्रेबिहारले गाईघाट फुटबल क्लबलाई ५–३ ले हरायो । काँक्रेविहारका लागि अनीश घर्ती क्षेत्रीले ३ गोल गरे । आशिष चापागाईँ र गणेश पुलामी मगरले थप गोल गरे । गाईघाटका पविन राईले दुई गोल गरे भने विवश श्रेष्ठले एक गोल गरे ।
२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा शीर्ष ४ स्थान पाउने टोली राष्ट्रिय लिगमा प्रवेश पाएका छन् । प्रेसिडेन्ट लिगको विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।