काठमाडौं युरो आईबी वर्ल्ड स्कुल, गोंगबुले फुटबलर भरत खवासलाई आइतबार नगदसहित सम्मान गरेको छ।
काठमाडौं युरोले स्पोर्ट्स मिटको समापन कार्यक्रममा भरतलाई फुटबलको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण योगदान गरेवापत सम्मान गरेको हो ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा आयोजित कार्यक्रममा काठमाडौं युरोका अध्यक्ष प्रमोद पाण्डे, विद्यालय सञ्चालक समितिका सदस्यद्वय राजाराम पुडासैनी र ज्ञानेन्द्रमान जोशी तथा शैक्षिक निर्देशक डा. दीपक गुप्ताले भरतलाई नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
सोही अवसरमा भरतले स्पोर्ट्स मिटका विभिन्न खेलमा पदक जित्न सफल खेलाडीलाई पुरस्कृत पनि गरे । स्पोर्ट्स मिटमा फुटबल, बास्केटबल, एथलेटिक्स, कबड्डी र विभिन्न परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो ।
काठमाडौं युरोले विगतमा करातेकी एरिका गुरुङ, फुटबलकी सरु लिम्बू, ‘साम्बा’ उपनामले चिनिने राष्ट्रिय महिला फुटबल टोलीकै सावित्रा भण्डारी, दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, १३ औं सागका स्वर्ण विजेता साइक्लिङका बुद्धिबहादुर तामाङ, करातेका पर्शुराम बाँस्तोला, फुटबलका प्रज्ज्वलप्रताप क्षेत्री, सागका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, करातेका सुमन तिमल्सिनालगायतलाई सम्मान गरेको थियो ।