स्पेनकी ऐताना बोन्मातीले ऐतिहासिक तेस्रो लगातार द बेस्ट फिफा महिला खेलाडी अवार्ड जितेकी छन्। फ्रान्सका उस्मान डेम्बेलेलाई द बेस्ट फिफा पुरुष खेलाडीको उपाधि दिइएको छ।
कतारको दोहामा मंगलबार विशेष कार्यक्रम आयोजना गर्दै अवार्ड घोषणा गरिएको हो।
बार्सिलोनाकी मिडफिल्डर बोन्मातीलाई क्लब र देशका लागि उत्कृष्ट वर्षपछि द बेस्ट फिफा महिला खेलाडीको अवार्ड दिइएको हो। उनी महिला फुटबलमा लगातार तीन पटक यो उपाधि जित्ने पहिलो खेलाडी बनेकी छन्।
डेम्बेलेले पेरिस सेन्ट-जर्मेन (पीएसजी) को यादगार सिजनमा मुख्य भूमिका निर्वाह गरेका थिए, जसमा क्लबले कप डे फ्रान्स, १३औँ लिग १ उपाधि र ऐतिहासिक युइएफए च्याम्पियन्स लिग उपाधि जितेको थियो। त्यसपछि फिफा क्लब वर्ल्ड कप २०२५ मा उपविजेता बनेको थियो।
अन्य प्रमुख व्यक्तिगत अवार्डहरूजस्तै द बेस्ट फिफा पुरुष प्रशिक्षक, द बेस्ट फिफा महिला प्रशिक्षक, द बेस्ट फिफा पुरुष गोलकिपर र द बेस्ट फिफा महिला गोलकिपर अवार्डहरू पनि समर्थकहरू, सबै पुरुष र महिला राष्ट्रिय टिमका वर्तमान कप्तान र प्रशिक्षकहरू तथा मिडिया प्रतिनिधिहरूको समान भारको मतबाट निर्धारण गरिएको थियो।
सारिना विगमनलाई इङ्ल्यान्डलाई लगातार दोस्रो युइएफए महिला युरो उपाधि जिताएपछि द बेस्ट फिफा महिला प्रशिक्षक २०२५ प्रदान गरिएको छ।
पेरिस सेन्ट-जर्मेनको उत्कृष्ट सिजनको नेतृत्व गरेका लुइस एन्रिकलाई द बेस्ट फिफा पुरुष प्रशिक्षक २०२५ को अवार्ड दिइएको छ।
द बेस्ट फिफा महिला गोलकिपर उपाधि हन्नाह ह्याम्पटनलाई दिइएको छ, जसले चेल्सीलाई घरेलु ट्रेबल जिताउँदा पोस्टबीच उत्कृष्ट प्रदर्शन गरिन्।
इटालियन गोलकिपर जियानलुइजी डोनारुम्मा, जो यो वर्षको सुरुमा म्यानचेस्टर सिटीमा आबद्ध भएका थिए, पूर्व क्लब पेरिस सेन्ट-जर्मेनका प्रदर्शनका लागि द बेस्ट फिफा पुरुष गोलकिपर २०२५ बनेका छन्।
द बेस्ट फिफा पुरुष टिम २०२५ : जियानलुइजी डोनारुम्मा (पेरिस सेन्ट-जर्मेन, अब म्यानचेस्टर सिटी/इटाली), अक्राफ हाकिमी (पेरिस सेन्ट-जर्मेन/मोरोक्को), विलियन पाचो (पेरिस सेन्ट-जर्मेन/इक्वेडर), भान डाइक (लिभरपुल/नेदरल्यान्ड्स), नुनो मेन्डेस (पेरिस सेन्ट-जर्मेन/पोर्चुगल), जुड बेलिङ्ह्याम (रियल म्याड्रिड/इङ्ल्यान्ड), पेड्री (बार्सिलोना/स्पेन), भिटिन्हा (पेरिस सेन्ट-जर्मेन/पोर्चुगल), कोल पाल्मर (चेल्सी/इङ्ल्यान्ड), लामिन यामाल (बार्सिलोना/स्पेन), उस्मान डेम्बेले (पेरिस सेन्ट-जर्मेन/फ्रान्स)